अदालत र प्रहरीमा मुद्दा मिलाइदिन्छु भन्दै ठग्ने ‘विचौलिया’ पक्राउ

काठमाडौं। अदालत र प्रहरी प्रशासनमा विचाराधीन रहेका मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक ‘विचौलिया’ व्यापारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउपर्नेमा सिरहाको गोलबजार नगरपालिका–६ निवासी पोल्ट्री दाना व्यवसायी राकेश साह रहेका छन्। विभिन्न प्रकृतिका मुद्दा मिलाइदिने प्रलोभन देखाइ सर्वसाधारणबाट रकम असुल गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले साहलाई मङ्गलबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार साहले पीडितहरूलाई ‘प्रहरी र अदालतका कर्मचारीलाई बुझाउनुपर्छ’ भन्दै पटकपटक गरी रु छ लाखसम्म ठगी गरेको आरोप छ। उनले सेटिङ मिलाएर मुद्दा किनारा लगाइदिने भन्दै पीडितहरूलाई विश्वासमा लिने गरेको अनुसन्धानबाट खुलेको छ।

साहले विगतमा पनि प्रहरी प्रशासन र अदालतको नाम दुरुपयोग गर्दै कैयौँ सर्वसाधारणलाई ठगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ, सूचना अधिकारी पालले भने। उनका अनुसार, केही महिनाअघि एक जबर्जस्ती करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै साहले मोटो रकम असुल गरेका थिए।

रकम लिएर पनि काम नगरेको र पीडितले आफ्नो पैसा फिर्ता माग्दा उल्टै धम्काउने गरेपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका साहमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीका अनुसार सिरहा जिल्ला अदालतबाट मंगलबारदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी उनीमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशङ्कामा अनुसन्धानको दायरा फराकिलो पारेको जनाएको छ।