कुलो बनाउने भन्दै घरबाट निस्किएका दाजुभाइको हत्या

काठमाडौं। नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाइएको अवस्थामा बुधबार शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङ मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार एक व्यक्तिले फोनमार्फत आफूले हत्या गरेको स्वीकार गर्दै घटनास्थलको जानकारी दिएका थिए। सोही सूचनाका आधारमा खोजी गर्दा दुवै जनाको शव किम्ताङ खोलामा ढुङ्गाले थिचेर लुकाइएको अवस्थामा फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेनसम्बन्धी विवादका कारण हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक लामाले घटनामा संलग्न भएको स्वीकार गर्ने व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको बताए। ती व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ। घटनाबारे विस्तृत विवरण पक्राउपछि खुल्ने प्रहरीको भनाइ छ।

परिवारका सदस्यका अनुसार सोमनाथ र सूर्यमान मंगलबार बिहान कुलो निर्माणको काममा जाने भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए। घटनास्थल सडक सञ्जालबाट करिब पाँच घण्टा पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि दुवै शव बुधबार साँझ घटनास्थलबाट त्रिशूली अस्पतालतर्फ ल्याइँदै गरिएको प्रहरीले जानकारी दिएको छ। 

7