प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ
काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदित प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले शपथ लिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, उनको पदभार ग्रहण पनि आजै हुनेछ । संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।
संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतकाले विरोध पनि गरिरहेका छन् । सर्वोच्च अदालतमा बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल छिन् । वरीयताक्रममा उनी नै प्रधानन्यायाधीश हुने आकांक्षी थिइन् ।
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई अनुमोदन गर्नका लागि सहजता हुने वातावरण तयार गरेका थिए । ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै पनि निर्णय गर्न सक्ने प्रवाधान अध्यादेशमा राखिएको थियो। त्यही अध्यादेश आएपछि संवैधानिक परिषद्ले बैठक गरी शर्माको नाम सिफारिस गरेको थियो।
शर्माको नाम सिफारिसप्रति प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति राखेका थिए । संवैधानिक परिषद्का २ सदस्यको असहमतिकाबीच शर्माको नाम संवैधानिक परिषद्बाट निर्णय भएको थियो।
