कर्णालीमा नागरिक बेपत्ता हुँदा पनि सरकारले चासो दिएन: ज्ञानेन्द्र शाही

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपद्मा हेलिकप्टरबाट उद्धार गर्ने गृहमन्त्री सुधन गुरुङले संसदमा प्रतिवद्धता जनाएपनि हालै सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक गाडी कर्णाली नदीमा खस्दा सरकारले उद्धारका लागि हेलिकप्टर सञ्चालन गर्न नसकेकोमा आपत्ति जनाए।

नेता शाहीले मन्त्रीहरु हेलिकप्टरमा सवार भइरहँदा कर्णाली नदीमा नागरिकहरु डुबेर मर्नुपर्ने अवस्था आएको भन्दै यस दुर्घटनाबारे स्पष्ट जवाफका लागि सरकारलाई रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग पनि गरे।

उनले उक्त दुर्घटना पछि गरिएको फोन समेत नउठाएर सरकारले नागरिकको जीवन रक्षाको विषयमा खेलवाड गरेको पनि बताए। नेता शाहीले राज्यले नागरिकको जीवन बचाउने कुरामा पनि संवेदनहीनता प्रकट गरेको गुनासो पनि गरे।