प्रहरी चौकी निर्माण विवाद समाधानका लागि दुई प्रदेशका मुख्यमन्त्रीबीच छलफल
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अस्थायी प्रहरी चौकी भवन निर्माणमा देखिएको अवरोध र विवाद समाधानका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसँग छलफल गरेका छन्। मुख्यमन्त्री शाहले टेलिफोनमार्फत कर्णालीका मुख्यमन्त्री कँडेलसँग संवाद गरेका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३, च्याचौर क्षेत्रमा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही बजेटअनुसार हिमाली गाउँपालिकामार्फत निर्माण कार्य अघि बढिरहेकाले प्रहरी चौकी निर्माणका लागि उपयुक्त वातावरण बनाइदिन मुख्यमन्त्री शाहले कर्णालीका मुख्यमन्त्री कँडेललाई आग्रह गरे।
भवन निर्माणका क्रममा भएको घटनामा संलग्न दोषीहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन प्रदेश सरकारमार्फत नेपाल सरकारसँग समन्वय गर्ने विषयमा पनि दुई मुख्यमन्त्रीबीच कुराकानी भएको छ। यसअघि मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले उक्त घटनाप्रति खेद प्रकट गरेको थियो।
प्रधानमन्त्रीको ध्यानाकर्षण
यसैबीच, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र ‘लाम्पाटा च्याचौर’ मा देखिएको विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउँदै पत्र लेखेका छन्।
मुख्यमन्त्री कँडेलले प्रधानमन्त्रीलाई पठाएको पत्रमा दुई जिल्लाबीच उत्पन्न सीमा विवादका कारण स्थानीय नागरिकबीच द्वन्द्व बढेको, शान्ति सुरक्षामा बाधा पुगेको र जनजीवन प्रभावित भएको उल्लेख गर्दै समस्या समाधानका लागि संघीय सरकारले तत्काल आवश्यक पहल गर्न आग्रह गरेका छन्।
दुई जिल्लाका स्थानीयबासीबीचको विवाद उत्कर्षमा पुग्दा आपसमा कुटाकुट हुनुका साथै प्रहरी चौकी निर्माणका लागि लगिएका सामग्रीसमेत हुम्लाका स्थानीयले फालिदिएका थिए। हुम्लाका स्थानीयको आक्रमणबाट कर्मचारी, प्रहरी र जनप्रतिनिधिसहित ६ जना घाइते भएका थिए।
दोषीमाथि कारबाहीको माग गर्दै बाजुराका स्थानीयबासीले कर्णाली करिडोर सडक खण्ड बन्द गराउँदै आएका थिए। तर, शुक्रबार बसेको सर्वपक्षीय बैठकले ६ बुँदे सहमति गरेपछि दिउँसोदेखि उक्त सडक खण्ड पुनः सञ्चालनमा आएको छ।
