नेपाल एयरलाइन्सको सञ्चालक सदस्य नियुक्ति विवादमा,पर्यटनमन्त्रीको निर्णयविरुद्ध उजुरी

काठमाडौं । सरकारले नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरेको नियुक्ति विवादमा तानिएको छ। पर्यटनमन्त्री खडक राज पौडेल (गनेस)ले वैशाख ३१ गते मन्त्रीस्तरीय निर्णय गर्दै ५ जनालाई नेपाल एयरलाइन्सको सञ्चालक सदस्यमा नियुक्त गरेका थिए।

जसमा कास्कीका डा दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई,ललितपुरका महेश्वर भक्त श्रेष्ठ,काठमाडौंका रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाल सञ्चालक समितिमा नियुक्त भएका थिए।

प्रतिस्पर्धामा २७ जना रहेकामा मन्त्री पौडेलले चलखेल गरेर ५ जना छानेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ।

५ जनाको नियुक्तिसम्बन्धी निर्णयबारे जानकारी दिन मन्त्रालयका सहसचिव जयराज अचार्यले जारी गरेको सूचनामा शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण,प्रस्तुतीकरण र अन्तर्वार्तापछि छनौट गरिएको भनिएपनि खुला प्रतिस्पर्धामा प्राप्त अंकलाई बेवास्ता गर्दै मनपरीरुपमा निर्णय गरेर सुशासनलाई नै धक्जी उडाउने काम मन्त्रीबाट भएको उजुरीमा उल्लेख छ ।

२०८३ वैशाख १२ गते गोरखापत्रमा नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान भएको थियो।

जेनजी आन्दोलनप्रश्चात सुशासन कायम गर्ने उद्देश्यसहित वर्तमान सरकार बनेपनि मन्त्रालयले चलखेलका आधारमा सञ्चालक सदस्य नियुक्ति गर्नु सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उत्पन्न भएको प्रधानमन्त्री कार्यालयमा दर्ता भएको उजुरीमा उल्लेख छ।