आज पनि तीन मौसमी प्रणालीको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ।
हाल गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
