६ करोडको अवैध भेपसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका-८ का ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२२ खिचापोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमान्डु ट्रेडर्स प्रालिको गोदाममा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा विभिन्न कम्पनीका २८ हजार ५०० वटा बिलबिजक नभएका अवैध सामग्री (भेप) बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । भेपसहित पक्राउ परेका खड्का पसलका सञ्चालक हुन् ।
