काठमाडौं उपत्यकामा नक्कली दूधको ठूलो परिमाणमा कारोबार, जन स्वास्थ्यमाथि खेलबाड

काठमाडौं । काठमाडौं उपत्यकामा नक्कली दूधको बिक्री भइरहेको तथ्य पत्ता लागेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरस्थित एक डेरी उद्योगमा अनुगमनका क्रममा दूध प्रशोधनमा प्रयोग हुन सक्ने शंकास्पद पदार्थ फेला पारेपछि विभागले ठूलो परिमाणमा दूध सिलबन्दी गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं तथा प्रहरी वृत्त जगातीको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका-९ स्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्थामा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा उद्योगको प्रशोधन कक्षमा ९.८६ केजी ‘माल्टोडेक्सट्रिन’, ‘डेक्सट्रोज मोनोहाइड्रेट’ ५६ केजी र ३० केजी ‘बेकरी सर्टेनिङ’ बरामद गरिएको विभागले जनाएको छ। उक्त डेरीले मानव स्वास्थ्यलाई नै जोखिममा पार्ने गरी नक्कली दूध तयार पारेर बिक्री गर्दै आएको आशंका गरिएको छ। नक्कली दूध तयार गरी सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डिडिसी) सहित बजारमा दूध बिक्री गर्दै आएको तथ्य पनि खुलेको छ।
विभागका प्रवक्ता डा.बालकुमारी शर्माका अनुसार ब्याच पाश्चराइजर ट्यांकमा हालेर तयारी अवस्थामा राखिएको ३० केजी ‘बेकरी सर्टेनिङ’ जस्तो देखिने चिल्लो पदार्थसमेत अनुगमनका क्रममा फेला परेको थियो।
अनुगमन टोलीले उद्योगभित्र रहेका तीनवटा चिलिङ भ्याटमा भरिएको दूधबाट तीन थान नमुना र पगाल्न तयारी अवस्थामा रहेको शंकास्पद चिल्लो पदार्थबाट एक थान नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको र तीनवटै चिलिङ भ्याटमा रहेको दूध तथा बेकरी सर्टेनिङजस्तो देखिने पदार्थ अर्को आदेश नभएसम्मका लागि सिलबन्दी गरिएको जनाएको छ।
थप अनुसन्धानका लागि उद्योग सञ्चालकलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको पनि प्रवक्ता शर्माले बताउनुभएको छ।
तीनवटै पदार्थ सामान्यतया खाद्य उद्योगमा कानुनीरूपमा प्रयोग हुने औद्योगिक कच्चा पदार्थ भए पनि दूधमा गैरकानुनीरूपमा मिसावट गर्न प्रयोग गरिएमा त्यसले दूधको प्राकृतिक गुण, पोषण संरचना र स्वास्थ्य सुरक्षामा गम्भीर असर पार्ने खाद्य वैज्ञानिकहरू बताउँछन्।
उनीहरूका अनुसार ‘माल्टोडेक्सट्रिन’ ले रगतमा चिनीको उच्च जोखिम बढाउन सहयोग गर्छ भने ‘डेक्सट्रोज मोनोहाइड्रेट’ ले अत्यधिक ग्लुकोज बढाउँछ, दुवै स्वास्थ्यका लागि घातक मानिन्छन्। बेकरी सर्टेनिङले ट्रान्स फ्याटमार्फत् मुटुरोग र रक्तनलीसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ।
दूधलाई कृत्रिमरूपमा गाढा बनाउन, चिल्लोपना कृत्रिमरूपमा बढाउन, स्वाद र टेक्सचर परिवर्तन गर्न तथा प्राकृतिक दूधको चिल्लोपनाको सट्टा प्रशोधित बोसो सम्मिश्रण गर्न उल्लेखित पदार्थहरू मिसाउने प्रवृत्ति देखिएको छ।
माल्टोड्रेक्टिन एक प्रकारको कार्बोहाइड्रेट हो,जुन मकै, आलु, चामल वा गहुँको स्टार्चबाट बनाइन्छ। स्टार्चलाई ‘हाइड्रोलाइसिस’ प्रक्रियाबाट टुक्र्याएर सेतो पाउडर बनाइने भएकाले सजिलै पानीमा घुल्ने र खाद्य पदार्थ गाढा बनाउने काम गर्छ।
खाद्य उद्योगमा त्यसलाई सस्तो ‘बल्किङ एजेन्ट’ तथा टेक्सचर सुधार गर्ने पदार्थका रूपमा प्रयोग गरिन्छ। इनर्जी ड्रिक, इन्स्ट्यान्ट सुप, आइसक्रिम, इन्फ्यान्ट फोरमुला, स्पोर्टस् सप्लिमेन्ट्स तथा विभिन्न प्रोसेस्ड फुडमा पनि प्रयोग हुने गरेको छ।
अध्ययनहरूले त्यसको अत्यधिक प्रयोगले मधुमेह, मोटोपना तथा मेटाबोलिक डिसअर्डरको जोखिम बढाउन सक्ने देखाएका छन्। डेक्स्ट्रोज मोनोहाइड्रेट पनि ग्लुकोजकै एक रूप हो। प्रायः मकैको स्टार्चबाट उत्पादन गरिने उक्त पदार्थमा एउटा पानीको अणु जोडिएको हुने भएकाले मोनोहाइड्रेट भनिन्छ।
जुन अति छिटो ऊर्जा दिने, तुरुन्त पानीमा घुल्ने तथा मिठास दिने गुण भएको पदार्थ हो। सफ्ट ड्रिंक, बेकरी आइटम, कन्फेक्सनरी, ओरल रिहाइड्रेसन तथा इनर्जी सप्लिमेन्ट्समा त्यसको प्रयोग हुन्छ। जसको अत्यधिक सेवनले मधुमेह, इन्सुलिन रेसिसटेन्स, मोटोपना तथा दाँतसम्बन्धी समस्याको जोखिम बढ्ने बताइएको छ।
त्यस्तै, ‘बेकरी सर्टेनिङ’ बेकरी उद्योगमा प्रयोग हुने प्रशोधित बोसो (प्रोसेस्ड फ्याट) हो । जुन प्रायः वनस्पति तेललाई हाइड्रोजेनेरेसन प्रक्रियाबाट तयार गरिन्छ। जसले बिस्कुट, केक, पेस्ट्री, डुनट, क्रिम फिलिङङजस्ता खाद्य पदार्थ नरम, क्रिस्पी र लामो समयसम्म टिक्ने बनाउँछ। तर, बढी प्रयोग भएमा जोखिमयुक्त मानिन्छ।
हाइड्रोजेनेरेटेड सर्टनिङमा प्रायः ट्रान्स फ्याट, स्याटुरेटेड फ्याट उच्चमात्रामा पाइन्छ। विश्व स्वास्थ्य संगठनले ट्रान्स फ्याटलाई मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक बोसोका रूपमा वर्गीकृत गरेको छ।
