परिवर्तनका उपलब्धिमाथि सम्झौता स्वीकार्य छैन: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई नभएको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने,’नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो सङ्घर्ष, हजारौँ सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो।
यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकाङ्क्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो । तसर्थ, संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन ।’
‘संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता भएको उनले उल्लेख गरेका छन्।
जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो । ‘गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो। त्यसका लागि समावेशी, पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्दै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई झनै मजबुत बनाउनु अपरिहार्य छु, प्रचण्डले भनेका छन्।
देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबिच एकता आवश्यक रहेको पनि उनले बताएका छन्। सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण गर्नु साझा राष्ट्रिय सङ्कल्प हुनुपर्ने उनले बताए।
प्रचण्डले भने, ‘हामीबिच राजनीतिक मतभेद हुन सक्छन्, संसदीय परिपाटीमा सङ्ख्यात्मक अङ्कगणित फरक हुनसक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो।
परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति हामी सचेत रहनुपर्छ। नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट बनौँ।
