सरकारले गैरजिम्मेवार र हावादारी बजेट ल्यायो: एमाले
काठमाडौं । नेकपा एमालेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई ‘गैर जिम्मेवार र हावादारी’ भएको निष्कर्ष निकालेको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बजेटले आम जनताको भावना, देशको वर्तमान आवश्यकता र रूपान्तरणकारी योजनालाई समेट्न नसकेको ठहर गरेको हो ।
बैठकमा पूर्वअर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा र योजना आयोगका पूर्वउपाध्यक्ष डा.शिवराज अधिकारीले बजेटका विभिन्न आयामबारे सहजीकरण गरेका थिए । एमालेले शिक्षा, कृषि र पर्यटन जस्ता महत्त्वपूर्ण क्षेत्रलाई बजेटले प्राथमिकता नदिएको, निम्न वर्ग, गरिब, किसान, मजदुर, महिला, बालबालिका र विद्यार्थीप्रति ध्यान नदिएको आरोप लगाएको छ ।
साथै, बजेटको स्रोत सुनिश्चिततामा पनि प्रश्न उठाएको छ । पार्टीका प्रमुख सचेतक ऐनबहादुर महरले बजेट ऋणमा आधारित रहेको तर ऋणको स्रोतसमेत भरपर्दो नभएको बताए । ‘यो बजेटले जनमतअनुसारको ट्रान्सफर्मेसन र प्याराडाइम शिफ्ट ल्याउन सकेन,’ महरले भने ।
झन्डै ६ घण्टा चलेको बैठकले बजेटका कमजोरीहरूलाई संसद्मा सशक्त रूपमा उठाउने निर्णय गरेको छ । जेठ १८ गतेदेखि सुरु हुने बजेट छलफलमा एमालेले साझा धारणा प्रस्तुत गर्ने तयारी गरेको छ ।
