भदौको घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र थियो: अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन्।
२१ फागुनको चुनावपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको दाबी गरेका हुन्।
संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ।
उनले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गरे । ओलीकाअनुसार आगो लगाउने विधि, पेट्रोल बम निर्माण र प्रज्वलनशील पदार्थलाई थप घातक बनाउने जस्ता प्राविधिक तयारीहरू पहिले नै गरिएका थिए । यो कुनै आकस्मिक घटना नभई सुनियोजित रूपमा अघि बढाइएको उनको भनाइ छ।
अध्यक्ष ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन र उनीहरूका विरुद्ध झुटा तथा बनावटी आरोपहरू लगाउने प्रपञ्च समेत सोही योजनाको हिस्सा भएको जिकिर गरे। आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने र दोष भने अरूलाई थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सो घटनालाई ‘काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने’ प्रयासको रूपमा चित्रण गरे।
