एसीसी महिला प्रिमियर कप: नेपालले भुटानलाई ५१ रनले हरायो
काठमाडौं । एसीसी महिला प्रिमियर कप २०२६ मा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउँदा भुटानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ६२ रन मात्र बनाएको हो।
बिहीबार क्वालालम्पुरस्थित कोलेज तुआन्कु जाफर ओभलमा भएको खेलमा ओपनर दिचेन वाङमोले सर्वाधिक ३९ रन बनाइन्। उनले ६० बलको सामना गर्दै ५ चौका प्रहार गरिन् ।
चाडो ओमले २१ बलमा ११ रन बनाइन्। अन्य व्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालका लागि रुविना क्षेत्रीले घातक बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन्। रिया शर्माले २ तथा कविता कुँवर र मनिषा उपाध्यायले १-१ विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । टोलीका लागि सीता राना मगरले २८ बलमा ३७ रनको योगदान दिइन् । उनले ६ चौका प्रहार गरिन् ।
रुविना क्षेत्रीले २१ बलमा २४ रन जोडिन्। उनले ३ चौका प्रहार गरिन्। सोनी पख्रिनले १३ रन तथा ओपनर सम्झना कुमारीले १० रन बनाइन्। अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। भुटानका लागि सोनम र छिरिङ जाङ्गोले ३-३ विकेट हात पारिन्। अञ्जु गुरुङले २ विकेट तथा रितिसी छोदेन र रिया प्रधानले १-१ विकेट लिए।
