टिकटकर तुल्सा अधिकारीलाई थुनामा पठाउने आदेश

काठमाडौं । जिल्ला अदालत ललितपुरले टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश टेकनाथ गौतमको इजलासले आज उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

उनलाई प्रहरीले इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएर अदालतमा पेस गरेको थियो।

उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा छ। उनी पछिल्लो समय चीनमा बस्दै आएकी थिइन् । प्रहरीले अनुसन्धान अघि बढाएपछि उनले सामाजिक सञ्जालबाटै प्रहरीमाथि आक्रोश पोखेकी थिइन्।

‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन। चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा प्रहरीले जाहेरी देखाएन’ तुल्साले भनेकी थिइन्।

त्यसपछि प्रहरीले भ्रम नर्छन भन्दै विज्ञप्ति नै जारी गरेको थियो। कुमार चिमोरिया नाम गरेका व्यक्तिले उनीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए।

यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिएकी थिइन्। त्यसपछि २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिएको थियो।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।