काठमाडौं र ललितपुरका झन्डै १ सय ठाउँमा आज ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने

काठमाडौं । आज काठमाण्डौ र ललितपुरका झन्डै १ सय ठाउँमा ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ । स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ ठाउँमा अहिले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको १३२ के.भी.प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजना मातातीर्थको सूचना अनुसार कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुर वितरण केन्द्रका ११, रत्नपार्क वितरण केन्द्रका २० र पुल्चोक वितरण केन्द्रका १४ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजनाबाट १३२ के.भी.स्युचाटार सवस्टेसनको मर्मतसम्भार तथा स्तरोन्नति समेतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।

सटडाउन अवधिमा काठमाण्डौ उपत्यका भित्रका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पर्न सक्ने सम्भावना छ ।