रास्वपा पर्सा अधिवेशनमा विवाद हुँदा कुटाकुट,निर्वाचन स्थगित

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पर्साको जिल्ला अधिवेशनको क्रममा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ । शनिवार निर्वाचन प्रक्रिया चलिरहेका बेला पार्टीका दुई पक्षबीच विवाद बढ्दै जाँदा हानाहान भएको हो । जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयनमा विवाद हुँदा दुई पक्ष हानाहानमा उत्रिएका थिए ।

विवादका बीच शनिवार पार्टीका सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, क्षेत्रीय सभापति राम आर्यसहितको समूहले जिल्ला अधिवेशन स्थगितको माग गर्दै मधेस प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।

जिल्ला अधिवेशनका लागि जिल्लाका प्रतिनिधि चयनमा जिल्ला सभापति सांसद हरि पन्त पक्षले एकलौटी गरेको आरोप लगाउँदै पार्टीका सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, क्षेत्रीय सभापति राम आर्यसहितकाले ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूको ज्ञापनपत्र बुझेपछि निर्वाचन समितिले दुई घण्टाका लागि मात्र निर्वाचन प्रक्रिया स्थगित गरेर पुन सुचारु गरेपछि निर्वाचन कार्यालय स्थापना गरिएको होटलमै दुई पक्षबीच विवाद चर्किएको थियो ।

कार्यकर्ताहरूबीच हानाहान भएपछि निर्वाचन प्रक्रिया हालका लागि स्थगित गरिएको निर्वाचन समितिका संयोजक डा। नन्दन यादवले जानकारी दिए । उनले शनिवार स्थगित निर्वाचन प्रक्रिया अब आइतबार बिहान ८ बजेदेखि मात्रै सुरु गरिने बताएका छन् ।

पर्सामा एक गुटको नेतृत्व संस्थापक जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन्। उनलाई एक्ल्याउन बाँकी ३ क्षेत्रका सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्को गुट बनाएका छन् ।