छानबिन समितिलाई सुधनको प्रतिप्रश्न: तपाईंको पनि सम्पत्ति छानबिन गरौं न त ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं पूर्व गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिमाथि प्रश्न उठाउने छानबिन समितिलाई नै उल्टै प्रतिप्रश्न गरिदिएको खुलाएका छन्।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले बयानका क्रममा आफूले समितिका सदस्यहरूको सम्पत्तिबारे जिज्ञासा राखेको बताएका हुन्।

आफ्नो सम्पत्तिको स्रोतका विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि मार्गप्रशस्त गर्न मन्त्री पदबाट राजीनामा दिएका गुरुङले छानबिन समितिको बयान निकै रोचक रहेको बताए।

‘समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो भनेर प्रश्न गर्‍यो,उनले भने, ‘मैले पनि सहज रूपमा छानबिन समितिलाई नै सोधिसकेँ, तपाईंको पनि सम्पत्ति छानबिन गरौं न त !

उनले आफूमाथि लागेका आरोपहरूको सामना गर्न पूर्ण रूपमा तयार भएरै बयान दिएको सुनाए।

सांसद गुरुङले सार्वजनिक पद धारण गरेको व्यक्तिले नागरिकको प्रश्नको सामना गर्नुपर्ने र त्यसका लागि आफू जहिले पनि जिम्मेवार रहेको उल्लेख गरे। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा र घुमाउरो प्रकृतिका भए पनि आफूले निकै स्पष्ट र पारदर्शी जवाफ दिएको उनको भनाइ छ।

छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै उनले आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आफू ढुक्क रहेको बताए।

उनले यदि छानबिनबाट सफाइ पाएर पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर आएमा आफ्नो कार्यशैली फरक हुने सङ्केत गरे। ‘फेरि गृहमन्त्री बनेर आएँ भने सुरुका दुई महिना मन्त्रालयमा बधाई दिन र तस्बिर खिच्न नआइदिनुहोला,उनले भने, ‘मलाई काममा केन्द्रित हुन दिनुहोला, तस्बिर र बधाईको परम्पराले नतिजामुखी काममा बाधा पुर्‍याउँछ।

पार्टीको आन्तरिक सुदृढीकरणका बारेमा बोल्दै गुरुङले नेताहरू जिल्लामै बसेर काम गर्नुपर्नेमा जोड दिए। राजधानीमा बसेर जिल्लाको नेतृत्व गर्ने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने उनको तर्क थियो।

अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुनु हुँदैन, उनीहरू जिल्लामै बसेर जनताका गुनासो सुन्ने र संगठन बनाउने काममा लाग्नुपर्छ,उनले भने।

कार्यक्रममा गुरुङले आफू मन्त्री रहँदा पाएको जनसमर्थनको चर्चा गर्दै निर्वाचनमा आफूलाई विजयी गराउने गोरखाका मतदाताप्रति आभार प्रकट गरे।

उनले सुशासन र पारदर्शिताका लागि आफूले जस्तोसुकै त्याग गर्न तयार रहेको समेत प्रतिबद्धता जनाए। अधिवेशनमा जिल्लाभरका रास्वपा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।