सुदूरपश्चिममा एमालेले पनि मन्त्री फेर्दै,को-को बन्दैछन् नयाँ मन्त्री

धनगढी । नेपाली कांग्रेसले मुख्यमन्त्री बाहेकका आफ्ना सबै मन्त्री फेर्ने निर्णय गरेसँगै सत्ता साझेदार नेकपा एमालेले पनि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन गर्ने भएको छ। एमालेले नयाँ सांसदहरूलाई सरकारमा पठाउने निर्णय गर्दै मन्त्री बन्नेहरूको नयाँ सूची मुख्यमन्त्री कार्यालयमा बुझाइसकेको छ।

एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने निर्णय लिएको हो।

नयाँ कार्यविभाजन अनुसार सन्तोष शर्मा थापालाई भौतिक पूर्वाधार विकास, चक्रबहादुर मल्ललाई आन्तरिक मामिला तथा कानुन, दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी र जानकी ऐर बमलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइने तयारी छ।

यसअघि एमालेबाट सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हीरा सार्की सहभागी थिए। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै उनीहरू सरकारबाट फिर्ता हुनेछन्।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबारभित्रै प्रदेश सरकार पुनर्गठन गर्ने तयारी गरेका छन्। मुख्य सत्तारूढ दल नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद व्यवस्थापन गर्ने क्रममा यो सरकार पुनर्गठन हुन लागेको हो।