११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमति शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशन र मन्त्रालयको सक्रियतामा उक्त बक्यौता रकम असुल गर्ने निर्णय भएको हो ।
मन्त्रालयका अनुसार स्वास्थ्य क्षेत्रमा सुशासन,पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ यो निर्णयलाई कार्यान्वयन प्रक्रियामा लगिएको हो। महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका कैफियतहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुलीको प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र नियमसम्मत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन्। उनले कानुन र मापदण्डविपरीत हुने गतिविधिप्रति मन्त्रालयले शून्य सहनशीलता (जिरो टोलरेन्स) को नीति अवलम्बन गर्ने स्पष्ट पारेकी छन्।
