सामाजिक सञ्जालमा ‘डिल’ र कारबाट ‘सप्लाई’, यौनधन्दामा संलग्न १२ युवतीसहित १६ जना पक्राउ

काठमाडौं । गौशाला क्षेत्रमा कार र ट्याक्सीको प्रयोग गरी अवैध रूपमा युवती सप्लाई गर्दै यौनधन्दा चलाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले विशेष अपरेशन चलाएर यौनधन्दा सञ्चालन गर्ने ४ पुरुष र १२ युवतीसहित कुल १६ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने पुरुषहरूमा सुनिल तामाङ (सार्लाही), विवेक स्याङ्तान (मकवानपुर), विकास भुलन (मकवानपुर) र राजकुमार गौतम (काठमाडौं) रहेका छन्। प्रहरीका अनुसार यो गिरोहमा होटल सञ्चालकदेखि गाडी धनीसम्मको सेटिङ रहेको पाइएको छ।

यो समूहले ग्राहक खोज्नका लागि फेसबुक,इन्स्टाग्राम,ह्वाट्सएप र टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूले सामाजिक सञ्जालमार्फत नै ग्राहकलाई युवतीहरूको तस्बिर र भिडियो पठाउने र रकमको बार्गेनिङ गर्ने गरेका थिए।

प्रतिग्राहक १० हजार रुपैयाँसम्मको कुरा मिलेपछि उनीहरूले युवतीहरूलाई भनेको स्थानमा पु¥याउने गर्थे । युवती ओसारपसारका लागि उनीहरूले बा.ए.सी ०८९० नम्बरको मारुती सुजुकी कार र बा २ ज २३२७ नम्बरको ट्याक्सी प्रयोग गर्ने गरेका थिए,जसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरूको मोबाइलबाट यौनधन्दा र रकम लेनदेनका विषयमा भएका कुराकानी तथा बार्गेनिङका प्रमाणहरू समेत फेला पारेको छ। प्रहरीका अनुसार उनीहरूले विशेषगरी गौशाला क्षेत्रका होटलहरूलाई केन्द्रित गरेर यो धन्दा चलाइरहेका थिए।

काठमाडौं उपत्यकामा कारको प्रयोग गरेर युवती सप्लाई गर्ने यो पहिलो घटना भने होइन। यसअघि गत मंसिरमा पनि प्रहरीले यसै गरी आफ्नै कारमा युवती राखेर ठमेल, गौशाला, गोंगबु र विमानस्थल क्षेत्रका होटलहरूमा पु¥याउने कुलबहादुर कार्कीलाई पक्राउ गरेको थियो। ५० जनाभन्दा बढी युवतीको तस्बिर मोबाइलमा राखेर होटलका कर्मचारीहरूसँगको सेटिङमा धन्दा चलाउने कार्की अहिले पुर्पक्षका लागि कारागारमा छन्।

अहिले पक्राउ परेको टोलीले पनि दुरुस्तै पुरानै शैली अपनाएर अपराध गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।