रास्वपा दैलेखको कार्यालयमा तालाबन्दी
दैलेख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)दैलेखको प्रथम जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतगणनामा गम्भीर त्रुटि र अपारदर्शिता भएको आरोप लगाउँदै सभापति पदका उम्मेदवार प्रकाश बुढाले पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन्।
निर्वाचनमा विजेता उम्मेदवारभन्दा २४ मतले पछि परेका बुढाले मतगणनामा धाँधली र लापरबाही भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।
उनले आवश्यक छानबिन सम्पन्न नभएसम्म निर्वाचनसँग सम्बन्धित प्रमाण नष्ट हुन नदिन तथा निष्पक्ष अनुसन्धानको वातावरण सिर्जना गर्न कार्यालयमा तालाबन्दी गरिएको बताएका छन्।
निर्वाचन परिणामअनुसार सभापति पदमा बखतबहादुर भण्डारी ९३ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश बुढाले ६९ मत प्राप्त गरेका थिए। त्यसैगरी बिनी शाहीले ४३ र मित्रराज प्याकुरेलले ४१ मत पाएका थिए। निर्वाचनमा ६ मत बदर भएको जनाइएको छ भने कुल २४० मत खसेको निर्वाचन समितिले जनाएको थियो।
तर सार्वजनिक गरिएको विवरणमा गम्भीर गणितीय असङ्गति देखिएको भन्दै विवाद उत्पन्न भएको छ। उम्मेदवारहरूले प्राप्त गरेको मत मात्रै जोड्दा २४६ पुग्ने देखिन्छ, जुन खसेको भनिएको कुल मत २४० भन्दा ६ मत बढी हो। त्यसमाथि बदर मत ६ समेत जोड्दा गणना भएको कुल मत २५२ पुग्ने अवस्था देखिएको छ।
जम्मा २४० मत खसेको निर्वाचनमा २५२ मत कसरी गणना भयो भन्ने प्रश्न उठाउँदै बुढाले निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि नै गम्भीर शङ्का उत्पन्न भएको बताएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न पार्टी नेतृत्वसँग माग गरेका छन्। यस विषयमा निर्वाचन समिति तथा पार्टी नेतृत्वको आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन।
