होल्डिङ सेन्टर पाँच दिनभित्र खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशन

काठमाडौं। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारलाई पाँच दिनभित्र स्थान खाली गर्न सरकारले निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आगामी शुक्रबारभित्र स्व–व्यवस्थापन गरी सेन्टर खाली गर्न आग्रह गरेको हो।

समितिका अनुसार मनसुन सुरु भइसकेको र होल्डिङ सेन्टर खोला किनारमा रहेकाले बाढी तथा डुबानको जोखिम बढेको छ। यस्तो अवस्थामा त्यहाँ बसोबास गरिरहेका परिवारको सुरक्षालाई ध्यानमा राख्दै वर्षायाम अघि नै सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको जनाएको छ।

आयोजनाका सदस्य सचिव तथा पूर्वाधार विकास मन्त्रालयका सहसचिव मचाकाजी महर्जनका अनुसार, नगरकोट, बनेपा, कीर्तिपुर, बोडे कृषि तालिम केन्द्र, खरिपाटी, बालुजुका विभिन्न होटल र इचंगु नारायणमा रहेका ३८८ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनिएको हो।

सुकुम्बासी बस्ती भत्काएर होल्डिङ सेन्टरमा राखेको दुई महिना पुग्नै लाग्दा सरकारले लामो समयसम्म होल्डिङ सेन्टरमा बसाइँ हुँदा परिवारहरूको दैनिक जीवन अस्तव्यस्त बन्दै गएको निष्कर्षसहित खाली गर्ने भनेको हो। मचाकाजीका अनुसार उक्त स्थान केवल अस्थायी व्यवस्थापनका लागि बनाइएको भएकाले त्यहाँ स्थायी रूपमा बसोबास गराउन सम्भव छैन।

सरकारले प्रभावित परिवारलाई पुनर्स्थापनाका लागि राहत प्याकेजसमेत घोषणा गरेको छ। यसअन्तर्गत प्रत्येक परिवारलाई कोठा खोज्न तथा प्रारम्भिक व्यवस्थापनका लागि एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। उनले सरकारले उपलब्ध गराउने रकम लिएर पाँच दिनभित्र खाली गर्न सूचना जारी गरेको बताए।

त्यसैगरी, वास्तविक सुकुमबासी तथा घरबारविहीन प्रमाणित परिवारलाई स्थायी व्यवस्थापन नहुँदासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा सहयोग प्रदान गरिने समितिले जनाएको छ।

राहत वितरण प्रक्रिया छिटो बनाउन विशेष टोली परिचालन गरिएको छ। प्रभावित परिवारले बैंक खाता नम्बर सहित निवेदन दिएपछि रकम सिधै बैंकमार्फत उपलब्ध गराइने व्यवस्था मिलाइएको समितिले जनाएको छ।