५० प्रतिशतबढी निजी शिक्षण संस्था आफ्नै भवनमा, बाँकी भाडाको भवनमा सञ्चालन

काठमाडौं। देशभरका निजी शिक्षण संस्थाहरू करिब ५० प्रतिशत भन्दा बढि संस्था आफ्नै भवनमा सञ्चालनमा रहेको र ३५ प्रतिशत भाडाको भवनमा रहेको पाइएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण-२०८१ अनुसार नेपालका सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूको भौतिक संरचना हेर्दा करिब ५० प्रतिशत भन्दा बढि संस्था आफ्नै भवनमा, करिब ३५ प्रतिशत भाडाको भवनमा र करिब १२ प्रतिशत लिज अन्तरगत सञ्चालनमा रहेको पाइएको छ।

मधेश र बागमती प्रदेशमा भाडाको भवन प्रयोग गर्ने संस्था क्रमश स् ४६ र ३८ प्रतिशत रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नै भवनबाट सञ्चालन हुने शिक्षण संस्थाको हिस्सा क्रमश: ७२.५ र ६६.५ र ६०.५ प्रतिशत रहेको देखिएको छ।

सर्वेक्षण अनुसार देशभर सरकारी बाहेकका १० हजार ४११ शिक्षण संस्थाहरू सञ्चालनमा रहेका छन। प्रदेशगत रूपमा हेर्दा देशभर रहेका सरकारी बाहेकका कुल शिक्षण संस्थामध्ये २७.९ प्रतिशत (२,९०३) शिक्षण संस्था बागमती प्रदेशमा सञ्चालनमा रहेको पाइएको छ।

कोशी र मधेश प्रदेशमा क्रमशः १८.४ प्रतिशत र १८.२ प्रतिशत (१,९१७ र १,८९१) गरी करिब समान संख्यामा शिक्षण संस्था रहेका छन्। त्यसैगरि लुम्बिनी प्रदेशमा १४.९ प्रतिशत (१,५५६), सुदूरपश्चिम प्रदेशमा ८.७ प्रतिशत (९०७), गण्डकी प्रदेशमा ८.३ प्रतिशत (८६२), र सबैभन्दा कम ३.६ प्रतिशत (३७५) वटा शिक्षण संस्था कर्णाली प्रदेशमा सञ्चालनमा रहेको पाइएको छ।

सरकारी बाहेकको शिक्षण संस्थाहरूको संचालन स्वामित्वको आधारमा हेर्दा ५२.१ प्रतिशत (५,४२१) शिक्षण संस्थाहरू प्राइभेट लिमिटेड, २०.८ प्रतिशत (२,१६३) शिक्षण संस्थाहरू व्यक्तिगत, १४.८ प्रतिशत (१,४३९) शिक्षण संस्थाहरू साझेदारी, ७.२ प्रतिशत (७४६) शिक्षण संस्थाहरू शैक्षिक गुठी (७४६) अन्तर्गत र ५.२ प्रतिशत (५४२) शिक्षण संस्थाहरू सामुदायिक शिक्षण संस्थाको रुपमा संचालनमा रहेको पाइएको छ।

यसरी हेर्दा सरकारी बाहेकको शिक्षा क्षेत्रमा निजी लगानी बढी देखिन्छ भने सामुदायिक र गुठीको उपस्थिति तुलनात्मक रूपमा कम रहेको सर्वेक्षणमा उल्लेख छ।