सेनाको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा जवनाको मृत्यु, सहसेनानी घाइते
काठमाडौं। कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक जवनाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा बिहीबार बिहान ग्रिनेड विस्फोट भएको थियो।
विस्फोटमा घाइते भएका नेपाली सेनाका जवान हिमाल विक्रम बिष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तिमिल्सिनाले जानकारी दिए।
उक्त घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।
बिहीबार बिहान ९ः१७ बजे सुदूरपश्चिम पृतना अन्तर्गतको तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएको टोलीका सदस्य बिष्ट ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए।
विस्फोटका कारण उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको हो।
