बैतडीमा बस दुर्घटना: चालकसहित १७ जना घाइते
काठमाडौं। बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। धनगढीबाट बैतडी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो साढे ३ बजेतिर पाटन नगरपालिका–८ गैराखानमा दुर्घटना भएको हो।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरूको पहिचान हुन बाँकी छ।
बस सडकबाट १०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
