विदेश पठाउने भन्दै ३९ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो।
अभियुक्त पन्तले एकजना बेरोजगार युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै रु १६ लाख र खत्रीले दुबई पठाउने बहानामा छजनाबाट रु २३ लाख असुलेका थिए। दुवै अभियुक्तलाई कारवाहीका निम्ति वैदेशिक रोजगार विभाग चलान गरिएको छ।
यसैबीच, नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ,पर्सा,भक्तपुर,कैलाली,गोरखा,सुनसरी,बाँके,पाल्पा र झापाबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
