मनसुनी वायुको प्रभावः आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ।

देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू–भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।