सरकारले ‘बुढ्यौली शिक्षा’ अभियान ल्याउने
काठमाडौं। सरकारले ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति, २०८३’ मार्फत वडा–वडामा बुढ्यौली शिक्षा तथा ज्येष्ठ नागरिक साक्षरता अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
यस निम्ति ‘महिला,बालबालिका,लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ले ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३’ ल्याउँदैछ। यो नीतिको मस्यौदा तयार भएको छ।
प्रस्तावित नीतिअनुसार ज्येष्ठ नागरिकलाई डिजिटल साक्षरता, मोबाइल बैंकिङ, अनलाइन सेवा प्रयोग र स्वस्थ बुढ्यौलीबारे प्रशिक्षण दिइनेछ भने युवापुस्तामा ज्येष्ठ नागरिकप्रति सम्मानको संस्कार विकास गर्ने लक्ष्य राखिएको छ।
नीतिले योग्य र सक्रिय ज्येष्ठ नागरिकलाई स्थानीय तहमा विषयविज्ञ तथा सल्लाहकारको अवसर,सहुलियतपूर्ण ऋण र उत्पादनको बजारीकरणमा सहयोग गर्ने व्यवस्था पनि प्रस्ताव गरेको छ।
साथै, आर्थिक रूपमा सक्षम ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छाले त्याग गर्न प्रोत्साहन गर्दै अशक्त तथा असहाय ज्येष्ठ नागरिकका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था पनि समेटिएको छ।
