पूर्वाधारमन्त्रीले फेरी दिए धम्की-‘काम नगर्ने प्रदेशमन्त्री थुन्छौँ, मेयरलाई कारबाही गर्छौँ’
काठमाडौं । पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार तनहुँको शुक्लागण्डकीमा स्थानीयहरूसँग कुरा गर्दै उनले काम नगर्ने मन्त्रीलाई थुन्ने चेतावनी दिएका हुन् ।
सोसल मिडियामा छ्याप्पछ्याप्ती भिडियो क्लिपमा उनले भनेका छन्, ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस् । आवश्यक कारबाही गर्छौँ । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौँ हामी ।
यसअघि उनले काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिका कारण उनको निकै आलोचना भएको थियो । अहिले फेरि उनले प्रदेशका मन्त्री नै थुन्ने चेतावनी दिएका हुन् । उनले यस्तो चेतावनी दिएको भिडियो क्लिप अहिले सोसल मिडियामा छ्याप्पछ्याप्ती छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रम थियो । त्यहाँ उनले जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने उल्लेख गरेका थिए ।
उनले जनतालाई दुःख दिने, सेवा प्रवाहमा बेवास्ता गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने विषयमा जानकारी भए सम्बन्धित निकायमा सूचना दिन आग्रह पनि गरेका छन्।
‘यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस् । त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ’, उनले भनेका छन् ।
