स्वास्थ्यमन्त्री मेहताको राजीनामा माग्ने स्वास्थ्यकर्मी पक्राउ
काठमाडौं। स्वास्थ्यमन्त्री निशा मेहताको आलोचना गर्दै राजीनामा माग्ने एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत मन्त्री मेहताको कडा आलोचना गर्दै राजीनामा माग्ने स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका हुन्।
सोमबार साँझ जनकपुरबाट उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जालमार्फत स्वास्थ्य क्षेत्रमा भइरहेका काम र बेथितिबारे आलोचनात्मक टिप्पणी गर्दै आएका उनलाई विनापक्राउ पुर्जी पक्राउ गरिएको भन्दै विरोध भइरहेको छ।
हेल्थ असिस्टेन्ट रहेका अधिकारी निजी स्वास्थ्य संस्थामा कार्यरत छन्। गत शनिबार स्वास्थ्यमन्त्री मेहताको तस्बिर रातो मसीले क्रस गर्दै ‘माफिया मन्त्री’ भनेर फेसबुकमा पोस्टसमेत गरेका उनले अर्को स्टाटसमा लेखेका थिए,निशा मेहता, तिमी सरकारले प्रत्येक अस्पतालमा गरीब जनताका लागि १० प्रतिशत बेडको व्यवस्था पनि मधेशका कुनै अस्पतालमा लागू गराउन सकेकी छैनौँ। अख्तियार के गर्दैछरु लाज बेचिसक्यौ भने स्वास्थ्यमन्त्री पदबाट राजीनामा देऊ ।
सोही स्टाटसका कारण उनलाई नियन्त्रणमा लिएको बताए पनि यसबारे प्रहरीले केही बताएको छैन ।
