नेपाल सरकारले दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिनुलाई सामान्य मान्न सकिन्न: श्रेष्ठ
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाल सरकारले दलाई लामाको जन्मोत्सव औपचारिक रूपमा मनाउन अनुमति दिएको भन्दै असन्तुष्ट व्यक्ति गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सरकारको परराष्ट्र नीतिमाथि प्रश्न गर्दै यसले नेपालको परम्परागत स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीतिबाट विचलन हुने संकेत देखिएको बताएका छन् ।
उनले दलाई लामाको जन्मोत्सव पहिलो पटक सरकारको औपचारिक अनुमतिमा मनाइएको तथा कार्यक्रममा काठमाडौंस्थित केही पश्चिमी मुलुकका कूटनीतिज्ञहरूको सहभागिता भएको भन्दै यो घटनाक्रमलाई सामान्य सांस्कृतिक वा धार्मिक कार्यक्रमका रूपमा मात्र हेर्न नमिल्ने बताएका छन्।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई दलाई लामा तथा उनको कथित सरकारको तर्फबाट बधाई सन्देश आएदेखि नै नेपालमा यस विषयको अन्तर्यबारे गम्भीर बहस र आशंका हुँदै आएको उनको दाबी छ। साथै, दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा हुन सक्ने चर्चा चलिरहेका बेला पछिल्लो घटनाक्रमले थप जिज्ञासा र चिन्ता उत्पन्न गरेको बताएका छन्।
उनले नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीतिबाट व्यवहारिक रूपमा विचलित भई कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थअनुसार अघि बढ्ने प्रयास भए त्यसले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्र निर्णय क्षमतामाथि गम्भीर असर पार्न सक्ने बताएका छन्।
साथै राष्ट्रिय हितविपरीत हुने कुनै पनि गतिविधि नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै सरकारलाई राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्र परराष्ट्र नीतिको संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
