रास्वपा सांसद अफ्सानाको सरकारमाथि प्रश्न- ‘जनताको समस्या सुन्नु पहिलो जिम्मेवारी हो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अफ्साना बानुले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बानुले जनताको समस्या सुन्नु सरकारको पहिलो जिम्मेवारी भए पनि नागरिकले सम्बन्धित निकायबाट गैरजिम्मेवार व्यवहार भोग्नुपरेको बताइन्।
उनले विशेषगरी गृह मन्त्रालयको सचिवालयको कार्यशैलीप्रति प्रश्न उठाइन्। गृहमन्त्री सुधन गुरुङको सचिवालयमा समस्या राख्न सम्पर्क गर्दा फोन नउठाउने र कुनै प्रतिक्रिया नदिने गुनासो नागरिकबाट आइरहेको उनको भनाइ थियो।
जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृह मन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासाहरू निरन्तर आइरहेका छन्,’ उनले भनिन्, ‘जनताको समस्या सुन्नु सरकारको प्रथम जिम्मेवारी हो।
सांसद बानुले नागरिकलाई समस्या पर्दा सम्बन्धित मन्त्रालय र निकायबाट प्रभावकारी सुनुवाइ हुनुपर्नेमा जोड दिइन्।
यसैबीच, उनले जेन–जी आन्दोलनका विषयमा गम्भीरतापूर्वक छलफल गरी समाधानका लागि पहल गरेको भन्दै रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरिन्। उनको कामले युवाहरूमा राज्यप्रतिको भरोसा बढाउने काम गरेको सांसद बानुको भनाइ थियो।
