आत्मदाह प्रयास गर्ने युवक पठाओ चालक,प्रहरीले लगाएको थियो मोटरसाइकलमा ‘ह्वील लक’

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी आत्मदाह प्रयास गर्ने युवाको पहिचान खुलेको छ। उनी मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन्। प्रहरीका अनुसार उनी पेसाले पठाओ (राइड सेयरिङ) चालक हुन्।
राहदानी विभागको ३ नम्बर गेटमा उनले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । काठमाडौं महानगरपालिको नगरप्रहरीले निषेधित क्षेत्रमा जथाभावी पार्किङ गरेको भनेर मोटरसाइकलमा ह्वील लक लगाइदिपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् ।
काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले आत्मदाह प्रयासको अन्य कारणबारे अनुसन्धान भइरहेको बताए। वीर अस्पतालमा उपचाररत उनको शरीर ६५ प्रतिशत जलेको बताइएको छ।
