वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं। आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडौँ तारकेश्वर नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडौँ टोखा नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौँ महानगरपालिका-३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० बस्ने खोटाङ घर भएका ४१ वर्षीय निरोज राई रहेका छन्।
पक्राउ मध्ये कुनसाङले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७ हजार रूपैयाँ, धन बहादुरले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९५ हजार रूपैयाँ, उमेशले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका-२ बाट र धन बहादुरलाई तारकेश्वर नगरपालिका-८ बाट बिहीबार तथा उमेशलाई टोखा नगरपालिका-५ बाट, सचितालाई काठमाडौँ महानगरपालिका-३ बाट र निरोजलाई काठमाडौँ महानगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।
