होल्डिङ सेन्टरमा बाढी पस्दा बिचल्लीमा परेका सुकुम्वासी भन्छन्– अब नदीमा हाम फाल्नु बाहेक अर्को विकल्प छैन
काठमाडौं। काठमाडौँ का सुकुम्वासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ। १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिवद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका हुन्।
मध्यरात करिव १२ः४० बजेबाट सेन्टरमा बाढी पस्न शुरु गरेको थियो।अचानक बाढी पसेपछि त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन् ।
पीडित दलमर्दन कामीले खाजा भनेर एउटा मिठाइ दिने काम मात्रै गरेको आरोप लगाए।आफैँ बसेको स्थानमा जान पनि पीडितहरुलाई नदिइएको गुनासो गरे। बाढीले रातभर सुत्न नदिइएको बताउँदै आफूहरुलाई अब मर्नुको विकल्प नरहेको बताए।
उनले भने, ‘यो खालको बर्बरता कहिलेसम्म रु हामी अब मर्ने बेला भइसक्यो, सेरिने बेला भइसक्यो, हाम फाल्ने बेला भइसक्यो नदीमा।निमोनिय, मिर्गौलाका रोगी आमा, दिदिबहिनीहरु हुनुहुन्छ।आफन्तहरुलाई भेट्न दिइरहेको छैन ।’
स्थानीय पीडित कान्छीमाया घलानकाअनुसार सुतिरहेको अवस्थामा अचानक पानी पसेपछि लुगाफाटो र खाद्यान्न जोगाउन समेत मुस्किल भएको थियो।बाढीका कारण धेरैजसोको ओढ्ने–ओछ्याउने र दैनिक उपभोग्य सामग्रीहरू पूर्ण रूपमा भिजेर नष्ट भएका छन् ।
उनले बाढी पसेपछि छाता र हातमा भएको मोबाइल बाहेक अरु सामान उठाउन नसकेको बताइन्।तीन बजेमात्रै सुरक्षाकर्मीहरु उद्धारका लागि सेन्टरमा आएको उनले बताइन्।
१५ दिनका लागि भनेर आफ्नो घर भत्काएर ल्याएको बताउँदै उनले भनिन्, ुहामीलाई पनि जिउने इच्छा छ, हाम्रा पनि बालबच्चा छन्, हाम्रो ठाउँमा त्योृ सरकार भइदिएको भए थाहा हुन्थ्यो।सरकारले हाम्रो समस्या बुझेन।हामी कुकुर, बिरोलो होइन।हामी कसैको लालपूर्जा भएको जग्गा मिचेर घर बनाएर बसेका थिएनौँ ।
