लामिछाने निवासमा बालेनको चार घण्टा लामो राजनीतिक संवाद, के-के भयो त ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार चार घण्टाभन्दा बढी समय राजनीतिक भेटवार्ता भएको छ। बूढानीलकण्ठस्थित लामिछाने निवासमा भएको छलफल समसामयिक राजनीति, पार्टी संगठन र राष्ट्रिय मुद्दामा केन्द्रित रहेको स्रोतले जनाएको छ।
बिहान करिब ११ बजे लामिछाने निवास पुगेका प्रधानमन्त्री शाहले झण्डै सवा ३ बजेसम्म कुराकानी गरेका थिए। लामो समयसम्म चलेको भेटलाई रास्वपाभित्रको आगामी रणनीति र राजनीतिक गतिविधिसँग जोडेर हेरिएको छ।
स्रोतका अनुसार छलफलमा सुकुम्बासी व्यवस्थापन, समसामयिक राजनीतिक अवस्था तथा पार्टीको संगठन विस्तारका विषयमा विचार–विमर्श भएको थियो। हालै सम्पन्न रास्वपाको पहिलो महाधिवेशनपछि मनोनयन हुन बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयनको विषयमाथि पनि भेटघाटमा कुराकानी भएको थियो।
सभापतिले ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ। सोही प्रक्रिया टुंग्याउने विषयमा दुवै नेताबीच प्रारम्भिक कुराकानी भएको हो। दुई नेताबीचको कुराकानीमा मनोनित हुने नेताहरूको प्रारम्भिक सूची नै तयार भएको छ। भेटमा पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र जिम्मेवारी बाँडफाँटबारे पनि कुराकानी भएको थियो।
