बाढी,पहिरो आउने सम्भावना भएपछि सतर्कता अपनाउन कामपाको आग्रह
काठमाडौं। काठमाडौँ महानगरपालिकाले आज (आइतबार) र भोलि (सोमबार) धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरोबाट बच्न सतर्कता अपाउन आग्रह गरेको छ।
महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हुन सक्ने बाढी, पहिरो तथा भूक्षयको सम्भावित जोखिमबाट बच्न तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, विरामीलाई बचाउन सावधानी अपनाउन अनुरोध गरेको हो।
आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मनसुन सक्रिय भई भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ।
‘यसबाट काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हुन सक्ने बाढी, पहिरो तथा भूक्षयको सम्भावित जोखिमबाट बच्न तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, विरामीलाई बचाउन सावधानी अपनाउनु हुन र आपत परे महानगर प्रहरी कन्ट्रोलका फोन नम्बरहरू ९८५१३५६५०९, ०१ ५९०१७६३ र ०१ ५९०१७६४ मा महानगरपालिकाको टोल फ्री नम्बरहरू ५५११ र ११८० नम्बरमा सहायताका लागि सम्पर्क गर्नुहुन अनुरोध छ’, सूचनामा उल्लेख छ।
मौसम र सम्भावित जोखिमका विषयमा आधिकारिक सूचना अद्यावधिक गर्न र तत्काल एम्बुलेन्स चाहिए १०२ मा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।
