सरकार र गणेश नेपालीका परिवारबीच नौ बुँदे सहमति
काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको परिवार र सरकारबीच नौबुँदे सहमति भएको छ।
मृतकका परिवारजनलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने,श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानविनका लागि समिति गठन गर्नेलगायतका विषयमा सहमति भएको हो ।
नौं बुँदे सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । समितिले सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्नेछ।
त्यस्तै, मृतक नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाइने छ।
घटनाको दिन फिल्डमा अग्रभागमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन समितिको प्रतिवेदनरसिफारिस बमोजिम हुनेगरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालयले पत्र लेख्ने सहमति पनि भएको छ ।
मृतककी श्रीमतीलाई योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने र मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि सम्पूर्ण खर्चको प्रबन्ध मिलाइने सहमति छ । यस सम्बन्धमा महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराइने छ ।
त्यसैगरी, मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइने पनि सहमति पत्रमा उल्लेख छ । मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन महानगरपालिकाबाट मिलाइने छ।
पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गर्ने सहमति भएको छ।

