ललितपुर महानगरको आगामी बजेट ७ अर्ब बढीको हुने,निःशुल्क एम्बुलेन्सदेखि‘ आईटी हबसम्मका योजना

काठमाडौं। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमार्फत स्वास्थ्य, शिक्षा, पूर्वाधार, सम्पदा संरक्षण, सरसफाइ, प्रविधि र सहरी सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ।

महानगरका अनुसार कुल बजेटमध्ये पुँजीगततर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ (५७ प्रतिशत), प्रशासनिक खर्चतर्फ १ अर्ब ४५ करोड २१ लाख ५३ हजार रुपैयाँ (१९ प्रतिशत) र सामाजिक सुरक्षा तथा सशर्त अनुदानतर्फ १ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ (२४ प्रतिशत) विनियोजन गरिएको छ।

महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल खर्च प्रगति ६८ प्रतिशत पुगेको जनाएको छ। पुँजीगत खर्चको वित्तीय प्रगति ६०.४५ प्रतिशत र भौतिक प्रगति ७५ प्रतिशत रहेको छ। राजस्व संकलन प्रगति ७५.३१ प्रतिशत रहेको तथा बेरुजु ०.४४ प्रतिशत मात्र रहेको महानगरको दाबी छ।

ललितपुर महानगरले आगामी आर्थिक वर्षदेखि चिकित्सक, आवश्यक औषधि र उपकरणसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। त्यस्तै ६८ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई निमोनिया र इन्फ्लुएन्जाविरुद्धको निःशुल्क खोप उपलब्ध गराउने योजना अघि सारेको छ।

महिलामा हुने पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ र उपचार सेवा विस्तार गर्नुका साथै कोलोन क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने महानगरले जनाएको छ। ‘ज्येष्ठ नागरिकसँग महानगर स्वास्थ्य सेवा’ कार्यक्रमलाई विस्तार गर्दै अटिजम तथा अपांगता भएका व्यक्तिलाई समेत समेट्ने योजना रहेको छ।

महानगरले ललितपुरलाई उज्यालो र सुरक्षित शहरका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा स्मार्ट स्ट्रिट लाइट र हाई मास्ट लाइट जडानलाई निरन्तरता दिइनेछ।

कुपण्डोलदेखि जावलाखेलसम्म सञ्चालनमा ल्याइएको इन्टेलिजेन्ट ट्राफिक लाइट प्रणालीलाई हरिसिद्धि, युङ्गमती, कानदेवतास्थान, सानेपा, सान्तभवन, धोबिघाट र एकान्तकुनासम्म विस्तार गरिने भएको छ।

सडक दुर्घटना न्यूनीकरणका लागि अटोमेटेड स्मार्ट बुम जडान गरी ट्राफिक लाइटसँग जोड्ने योजना पनि अघि सारिएको छ। स्मार्ट स्ट्रिट लाइट भएका क्षेत्रमा नेपाल प्रहरीको प्राविधिक सहयोगमा सीसीटीभी जडानलाई निरन्तरता दिइनेछ।

ललितपुर महानगरले ऐतिहासिक सम्पदा संरक्षणलाई समेत बजेटमा प्राथमिकता दिएको छ। सप्तपाताल पोखरी पुनर्निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने योजना रहेको छ भने कमलपोखरी निर्माणका लागि बजेट व्यवस्था गरिएको छ।

राजकुलो, ढुंगेधारा, इनार, पोखरी तथा पुराना सम्पदाको संरक्षण र पुनर्निर्माणलाई निरन्तरता दिइने महानगरले जनाएको छ। हिरण्यवर्ण महाविहार, भूरेश्वर मन्दिर, मरु मन्दिर, रुद्रायणी मन्दिरलगायत पुनर्निर्माण हुन बाँकी सम्पदाका लागि समेत बजेट छुट्याइएको छ।

महानगरले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षकसँग कार्यसम्पादन करार गर्ने योजना ल्याएको छ। विद्यालय तहको सिकाइ उपलब्धिमा कम्तीमा ५ प्रतिशत सुधार गर्ने लक्ष्य राखिएको छ।

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको पुरस्कारलाई निरन्तरता दिइनेछ भने ‘एक विद्यालय एक सम्पदा संरक्षण’ र ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गरिनेछ।

ललितपुरलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित महानगरलाई ‘आईटी हब’ बनाउने योजना पनि बजेटमा समेटिएको छ।

फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन अस्थायी ट्रान्सफर स्टेसन थप गर्ने, जीपीएस प्रणालीसहितको फोहोर संकलन व्यवस्थापन गर्ने र घरघरमै कुहिने तथा नकुहिने फोहोर छुट्याउने व्यवस्था लागू गर्ने महानगरले जनाएको छ।

४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोग निषेध गर्दै वातावरणमैत्री झोला उत्पादनलाई प्रोत्साहन गरिनेछ। ग्राउन्ड वाटर रिचार्ज अभियान सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।

महानगरले आर्थिक ऐनमार्फत विभिन्न कर छुटको व्यवस्था गरेको छ। चालु आर्थिक वर्षको सम्पत्ति कर र भूमिकर असोज मसान्तभित्र बुझाएमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

त्यस्तै व्यवसाय नवीकरण हुन बाँकी रहेका उद्योग व्यवसायले तोकिएको अवधिभित्र बक्यौता बुझाएमा जरिवानामा छुट दिने व्यवस्था गरिएको छ। महिला, दलित तथा अपांगता भएका व्यक्ति वा समूहद्वारा सञ्चालित व्यवसाय दर्तामा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ।

महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमार्फत ललितपुरलाई सुरक्षित, व्यवस्थित, सम्पदा संरक्षणयुक्त र प्रविधिमैत्री शहर बनाउने लक्ष्य लिएको जनाएको छ।