रगतले इतिहास लेख्नेहरू पुस्तक विमोचन एवं विमर्श कार्यक्रम सम्पन्न

चितवन। रगतले इतिहास लेख्नेहरू किताबको बिमोचन एवं विमर्श कार्यक्रम भरतपुरको सप्तगण्डकी क्याम्पसको सभाहलमा शानदार एवं भव्यरुपमा सम्पन्न भएको छ।

चितवनका करिब एक सय पाँच जना सहिद, बेपत्ता परिवारलाई आमन्त्रण गरिएको कार्यक्रमको सञ्चालन उक्त किताबका सम्पादक नारायण शर्मा (विपिन) र अध्यक्षता बाबुराम पाण्डेले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हीरामणि दुःखी , अतिथिहरू प्रा.डा.जगदीश चन्द्र भण्डारी, अनिल शर्मा, दिनेश शर्मा (सागर), चन्द्रहरि सुवेदि, मित्रलाल पंगेनि, होम बहादुर खड्का (धूर्व), भूमिस्वर कडेल ,अम्बिका मुढवरि, घननाथ सापकोटा,कञ्चन खनाल,अशोक शर्मा, सहिद परिवारको तर्फबाट खड्क बहादुर कुँवर, समालोचक उदय अधिकारी लगायत थिए।

कार्यक्रममा बोल्दै प्रा.डा.जगदीश चन्द्र भण्डारीले मुख्य नेतृत्वले गद्दारी गरिरहेका बेला यो लक्ष्य र उद्देश्य पूरा गर्नुपर्ने माग जनताको आँगनमा उठेको तीतो सत्यलाई पूरा गर्न रगतले लेखीएको इतिहास किताब प्रकाशनले एक मार्ग निर्देशन दिने बताए।

नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा (विरही)ले चितवनका सहिद परिवारलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउदै जनताको पसिनाबाट नेता बनेकाबाट नै सहिदको अपमान भएको यथार्थलाई कसैले छिपाउन नसक्ने भन्दै किताब प्रकाशन ऐतिहासिक कोशेढुङ्गा हुने विश्वस्त रहेको मन्तव्य व्यक्त गरे।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चन्द्रहरि सुवेदिले आफू ६३ सालकाे पुसमा चितवन जिल्ला सेक्रेटरी हुँदै गर्दा सहिद परिवारलाई सम्मान गरेको स्मरण गरे। सहिद परिवारलाई राज्यले उच्च सम्मान दिन नसकिरहेको अवस्था रहेको कटु यथार्थ बताउदै बदलिँदो परिस्थितिमा आफू क्रान्ति,सहिदको अधुरो सपना र परिवर्तनको संवाहक बन्न तयार रहेको स्पष्ट पारे।

प्रमुख वक्ता हीरामणि दुःखीले सहिद परिवारलाई क्रान्तिको मुक्ति शिखरको यात्रा जारी रहेको धारणा व्यक्त गर्दै सहिदले देखाएको बाटोमा अविचलित लाग्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष बाबुराम पाण्डेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सहिद परिवारलाई सम्मान एवं किताब वितरण गरेर इतिहासको दस्तावेजीकरण गरेकोमा पचास जना लेखक एवं सम्पादक नारायण शर्मा विपिनलाई बधाई ज्ञापन गरेका थिए। कार्यक्रममा सहिद परिवार र जिल्लाका कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।