माजिदलाई भेटेपछि पूर्वगृहमन्त्री श्रेष्ठले भने: सरकारले निरंकुश कार्य पूर्ण रूपमा बन्द गरोस्

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले कीर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीले पक्राउ गरेका युवामाथि दुर्व्यवहार भएको बताएका छन्।

भूमिहीन सुकुम्बासीको पक्षमा आवाज उठाउँदा माजिद अन्सारी, सरिस्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको उनको भनाइ छ। सोमबार अस्पतालमा उपचाररत अन्सारीको स्वास्थ्य अवस्था बुझ्न पुगेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत सरकारले निरंकुश कार्य पूर्ण रूपमा बन्द गर्नुपर्ने माग गरेका छन्।

पक्राउ परेका युवाहरूको गल्तीबारे श्रेष्ठले भने, ‘नवयुवा माजिद अन्सारी र सरिस्मा थापाहरूको गल्तीू यति थियो कि उनीहरूले पीडित भूमिहीन सुकुम्बासीहरुमाथि भएको अन्यायको विरोध गरे, सहयोगको लागि आफूलाई प्रस्तुत गरे र सरकारलाई संविधान र कानुनको पालना गर्न खबरदारी गरे। तर उनीहरूलाई प्रहरीले गालीगलौज ,पक्राउ र कुटपिट गर्‍यो।

सरिस्मा थापा र नहेन्द्र खड्कालाई सोही राति रिहा गरिए पनि माजिदको अवस्थाबारे प्रहरी प्रशासनले स्पष्ट नपारेको उनको भनाइ छ। श्रेष्ठले भने, ‘सरिस्मा थापा र नहेन्द्र खडकाहरुलाई सोही राति रिहा गरिए पनि अस्पतालमा उपचार गराइरहनुभएका माजिद अन्सारीको स्थितिको बारेमा भने प्रहरी प्रशासनले अझै स्पष्ट गरेको छैन। उहाँलाई पक्राउ पुर्जी दिइएको छैन। तर उहाँ मुक्त हुनुहुन्छ पनि भनिएको छैन।

सरकारले संविधान प्रदत्त अधिकार प्रयोग गरी न्यायको पक्षमा आवाज उठाउनेहरूलाई दमन, धरपकड, यातना र धम्की दिने यस्तो निरंकुश कार्य पूर्ण रूपमा बन्द गर्नुपर्ने उनको माग छ।

उनले लेखेका छन्

प्रहरीले सुकुम्बासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीद्वारा नाजायज एवं दुर्व्यवहारपूर्ण ढंगले अवाञ्छनीय गालीगलौज गर्दै पक्राउ गरिनुभएका माजिद अन्सारी , सरिस्मा थापा र नहेन्द्र खड्का मध्ये माजिद अन्सारीलाई पक्राउ गरिएपछि कुटिएको थियो। उहाँ अहिले त्रि वि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराई रहनु भएको छ। आज उहाँको स्वास्थ्यस्थिति बुझ्न र स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा गएको थिएँ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

नवयुवा माजिद अन्सारी र सरिस्मा थापाहरूको गल्ती यति थियो कि उनीहरूले पीडित भूमिहीन सुकुम्बासीहरुमाथि भएको अन्यायको विरोध गरे ,सहयोगको लागि आफूलाई प्रस्तुत गरे र सरकारलाई संविधान र कानुनको पालना गर्न खबरदारी गरे। तर उनीहरूलाई प्रहरीले गालीगलौज ,पक्राउ र कुटपिट गर्‍यो।

सरिस्मा थापा र नहेन्द्र खडकाहरुलाई सोही राति रिहा गरिए पनि अस्पतालमा उपचार गराइरहनुभएका माजिद अन्सारीको स्थितिको बारेमा भने प्रहरी प्रशासनले अझै स्पष्ट गरेको छैन। उहाँलाई पक्राउ पुर्जी दिइएको छैन। तर उहाँ मुक्त हुनुहुन्छ पनि भनिएको छैन। सरकारले संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै न्यायको पक्षमा आवाज उठाउनेहरूलाई दमन, धरपकड, यातना र धम्की दिने यस प्रकारको निरंकुश कार्य पूर्ण रूपमा बन्द गरोस्।