पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब खारेज गर्न अखिल(क्रान्तिकारी) को माग (विज्ञप्तिसहित)

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पर्दाथमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरिएको छ।

 

नेपाल सरकार र नेपाल आयल निगमले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी समग्र उपभोग्य सामानका साथै सेवा, भाडालगायतको समेत मूल्य÷शुल्कवृद्धि हुने कार्यलाई प्रश्रय दिइराखेको छ ।

 

 

 

कोरोना महामारीले आयआर्जनमा असर पारी दैनिक गुजारासमेत चलाउन धौ–धौ परिरहेका बेला सरकारको यस्ताखाले रबैया सहन नेपाली जनता विवश छन् ।

 

 

 

यसअघि निगमले गरेको पटकपटकको मूल्यवृद्धि फिर्ता लिन माग गर्दा पनि त्यसप्रति बेवास्ता गर्दै फेरि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँको दरले वृद्धि गरेकोमा हाम्रो सङ्गठनले यसलाई गम्भीरतापूर्वक लिएको छ ।

 

 

 

 

यस किसिमको गैरजिम्मेवारीपूर्ण कार्यको घोर विरोध एवम् भत्सर्ना गर्दछौं । कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सट्टा पटक–पटक जनताको ढाड सेक्ने गरी गरिएको चरम मूल्यवृद्धिले जनताको चुल्होसमेत नबल्ने अवस्था हुँदा पनि शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बन्नुका साथै दलाल र माफियाहरुको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन छ ।

 

 

 

 

त्यसमाथि राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन मरिहत्ते गरेर लागिरहेको छ । राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको मागसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नेपाल सरकारलाई गम्भीर हुन जोडदार आग्रह गर्दै जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरिएको पटक–पटकको मूल्यवृद्धि अविलम्ब फिर्ताका लागि नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायलाई जोडदार अपिलसमेत गर्दछौं ।

 

 

 

अन्यथा, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि, राष्ट्रघाती एमसीसी सम्झौता खारेजी आन्दोलनलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा अखिल क्रान्तिकारी सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसहित विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आमजनसमुदायलाई सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं।