प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्नेछन्।
यस्तै अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको
संसद् सचिवालयले जनाएको छ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ छलफल र पारितका लागि प्रस्ताव गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। यसैगरी आजै राष्ट्रियसभाको बैठक पनि बस्दैछ।
