नेता र कर्मचारीलाई जति भएपनि नपुग्ने, जनता खान नपाएर पासो लगाउने
रुषा थापा
केही समययता आत्महत्या, हत्या गर्नेहरु बढ्दो छन्। धारिलो हतियार प्रयोग गरी, विष सेवन गरेर वा पेट्रोल छर्किएर आतमहत्या हत्या गर्ने गरेको पाइन्छ। हालसालै काठमाडौंको चावहिलस्थित एक व्यक्तिले मादक पदार्थ सेवन गरी आफुसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल खन्याएर आगो लगाए। उनीहरुको अवस्था गम्भीर छ।
यो त उदाहरण मात्रै हो । अहिले देशभर यस्ता घटना दिनहुँ भइरहेका हुन्छन्। सरकार न मदिरा बेचबिखनमा रोक लगाउँछ न पेट्रोल, डिजेल बोतलमा बिक्रीवितरणमा प्रतिबन्ध लगाउँछ। यता, विष पनि जथाभावी किनबेचमा रोक लगाउँदैन सरकार। सरकारलाई केही मतलब छैन, जनताले आत्महत्या, हत्या गरेपनि । कुनै पनि घटना घटेपनि त्यो किन घट्यो भनेर गहिरो अनुसन्धान गर्नुपर्ने हुन्छ।
यदि मात्र होइन आगामी दिनमा त्यस्ता घटना हुन नदिन सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्छ। तर, यहाँ त घटना घटेपछि पनि कसैलाई केही मतलब हुँदैन । पेट्रोल पम्प व्यवसायीहरु आफु कमाउनका निम्ति जथाभावी पेट्रोल बेच्छन्। र, पैसा असुल्छन्। अनि त्यो पेट्रोल खन्याएर कतिपय मानिसले आत्महत्या गर्ने गरेका छन्।
एकातिर व्यवसायी कमाउने, अर्कोतिर सरकार पनि छाडा छोडिदिने। आफ्नो देशको नागरिकको रक्षा गर्नु सरकारको दायित्व हो। विडम्बना, यहाँ त सरकार नै आफ्ना नागरिकलाई मार्न तुहिएको छ। सरकार भन्छ, मदिरा सेवन गर्नु। तर, सरकार आफैं देशभित्र मदिरा ल्याउन दिएर कर असुल्छ। र,जनताको ज्यान लिन्छ।
पछिल्लो समय आत्महत्या र हत्या गर्नेहरु हवात्तै बढेका छन्। यो बढ्नुको कारण के हो ? भनेर सरकार वा सम्बन्धित निकाय अध्ययन गर्दैन। सामाजिक सञ्जालका कारण श्रीमान–श्रीमतीबीच उत्पन्न शंकावा विवादले पनि यस्ता घटना निम्त्याइरहेको छ। आर्थिक अभाव, बेरोजगारी र गरिबीले आत्महत्या, हत्या निम्त्याएको छ। अहिले कतिपयले बैंक तथा वित्तिय संस्था वा व्यक्तिबाट लिएको ऋण तिर्न नसक्दा पनि आत्महत्या गरिरहेका छन्।
सहकारी, लघुवित्त, फाइनान्सले पैसा खाइदिएपछि पनि कतिपयले आफुसँगै आफ्नो परिवार पनि नाश गरिरहेका छन् । यता, लगानी डुबेपश्चात् सहन नसकेर पनि कतिपयले आत्महत्या गरेका छन् । दिनहुँ दुई दर्जनभन्दा बढीले आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको प्रयास गर्दा गम्भीर घाइते भएर कोही अस्पतालको बेडमा छटपटी रहेका छन् ।
तर, सरकारलाई केहीमतलब छैन । जनता मरेको कुखुराको चल्ला मरे बराबर पनि भएको छैन, सरकारलाई । मुलुकमा रोजगारी नभएपछि लाखौं नेपाली युवा विदेशिएका छन् । कतिपय बाटोमा मागेर खाइरहेको देखिन्छ त कतिपयले आत्महत्याको बाटो रोजिरहेका छन् । २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दा मदिरा बेचबिखन गर्नेलाई कारबाही गथ्र्यो ।
यस्ता पदार्थ सेवन गर्नेलाई समेत कारबाही गथ्र्यो । त्यस्तै, तास खेल्नेलाई तास नै खान लगाउँथ्यो । ऋण लिएकाहरुलाई आफ्नो कार्यकर्ता बनाउँथ्यो । र, भनिन्थ्यो कि हाम्रो सरकार आएपछि सबै ऋण मिनाहा हुन्छ । अहिले मीटरब्याजमा ऋण लिने र दिने यत्तिकै छन् । बजारमा एक लाखको मासिक पाँच हजारदेखि ३० हजार ब्याजमा पैसा लगानी गरेको वा ऋण लिएको सुनिन्छ ।
यता, एक करोडको धितो राखेर २५–३० लाख कर्जा दिने । तीन महिनादेखि एक वर्षका समय दिएर ऋण चुक्ता नतिरेर ३० लाखमा एक करोडको धितो पचाइदिने । अर्को कुरा कतिपयले साँबाब्याज बुझाउँछु भन्दा पनि धितो नदिने । अहिले व्यक्तिदेखि बैंक तथा वित्तिय संस्थाहरुले यसरी नै सर्वसाधारण लुट्दै आएका छन् । बैंकले पनि दुई करोडको धितो भएमा एक करोड कर्जा दिने त्यसबापत पनि दश लाख त घुसै खाने ।
अनि सेवा शुल्क ३ प्रतिशत, ब्याज भन्नेबेला १८ प्रतिशत भनेर ७५ प्रतिशत असुल्ने र तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमा खाइदिने । अहिले बैंकहरु भन्छन्, ‘केही पनि ऋण लिन आएन । पैसा मात्र थुप्रियो ।’ बैंक चोर, ठग हो भनेर थाहा पाएपछि को जान्छ ऋण लिन? बैंककै कारण कतिपयले आत्महत्या, हत्या गरेका छन् ।
आफ्नो वंश नै नाश गरेका छन् । अनि बैंकका कारण सर्वसाधारण वा ऋणीको यस्तो हालत भएको थाहा पाएपछि कोही जानाजानी डुब्न ऋण लिन जान्छन् त ? बैंकका सञ्चालकहरु ऋण लिन कोही नआएको मिडियामा दाबी गर्छन् । तर, बैंकमा ऋण माग्न गएका अधिंकाश व्यक्ति बैंकका कर्मचारी, सञ्चालकले पैसा छैन भन्दै फिर्ता पठाएको बताउँछन् ।
पैसा नभएपनि भएको दाबी बैंकहरुले गरिरहेका छन् । किनकि पैसा छैन भन्यो भने त बैंक डुब्न लाग्यो भनेर बचतकर्ताले आफ्नो रकम निकाल्छन् नि त । बुढोपाका भन्थे, ‘मान्छेको देखाउने र चपाउने दाँत फरकफरक हुन्छ। हिजो सर्वहारा वर्गको नेता हुँ भन्दै जनयुद्धको कमाण्डर गर्ने पुष्पकमल दाहाल प्रचण्ड अहिले हातमा लाखौंको घडी लगाउँछन्।
उनले हातमा लगाएको घडीको मूल्य ७८ लाख रहेको बताइन्छ । उनले घडी मात्र यत्रो महंगो लगाउँछन् भने सम्पत्ति कति होला ? उनले कति पैसा विदेशी बैंकमा थुपारेका होलान् ? अहिले प्रचण्ड आफैं प्रधानमन्त्री छन् । यहिबेला आम सर्वसाधारण गरिबी, बेरोजगारीका कारण आत्महत्या गरिरहेका छन् ।
हिजो जनयुद्ध सुरु गर्दा जनतालाई विभिन्न सपना देखाए । १७ हजार नेपालीले उनकै कारण ज्यान गुमाए । तर, अहिले ती जनताले के पाए ? प्रचण्डले आफ्नो र आफ्नो सन्ततिका लागि त पुग्ने सम्पत्ति जोडे । सर्वसाधारण जनतालाई भने अहिले पनि बिहान बेलुकाकै छाक टार्न धौधौं मर्ने गरेको छ । केही महिनाअघि राजधानीमा एक ट्याक्सी चालकले आत्महत्या गरे ।
कोठा भाडा तिर्न नसकेर छोराछोरीसहित ट्याक्सीमा बस्दै आएका ती चालकले छोरालाई समेत आत्महत्या गर्नु भनी पठाएका थिए । आत्महत्याको प्रयास गर्दागर्दै छोराको उद्दार गरियो । तर, बाबुले भने आत्महत्या गरे । यो त उदाहरण मात्र हो । अहिले खान नपाएर वा गरिबीका कारण मानिसले आफुसँगै आफ्नो वंश नाश गरिरहेका छन् ।
यता, सरकारले देशै धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइसकेको छ । प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । अहिले जनताले तिरेको करले सरकारी खर्ब समेत धान्दैन । अब सरकारले विदेशीको ऋण कसरी तिर्छ ? ऋण नतिरे विदेशीले देशै कब्जा गर्ने छ, अनि त्यो बेला सरकार के गर्छ ? आम सर्वसाधारणले राज्यलाई कर तिर्न छोडिसकेका छन् ।
जनता आफैं खाना नपाउने अवस्थामा पुगेका छन् । अनि कसले तिर्छ राज्यलाई कर ? केही दिनअघि प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरियो । उनीहरुको सम्पत्ति हेर्दा निकै धेरै देखिन्छ । अझै यो सम्पत्ति त उनीहरुको कुल सम्पत्तिमध्ये आधा पनि नहुन सक्छ। किनकि अधिंकाशले आफ्नो आफन्तको नाममा सम्पत्ति राखेका छन् । विदेशी बैंकमा पैसा थुपारेका छन् ।
अहिले बाटोमा हिँड्दा यत्तिकै माग्दै मान्छेहरु भेटिन्छन् । मिगौला पीडितहरु घरघरमा आइपुग्छन् । अहिले पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुले तलबभत्ता, सेवासुविधा उपभोग गरिरहेका छन् । कर्मचारीहरु पनि तलबभत्ता थापिरहेका छन् । सेवासुविधा उपभोग गरिरहेका छन्। कसैलाई पनि देश र जनताको चिन्ता छैन । आफ्नो भुँडी भर्नमै सबै व्यस्त छन् ।
जनताबाट चुनिएर आएका जनप्रतिनिधिहरु नै तलबभत्ता र सेवासुविधा लिइरहेका द्धन् । नेता र कर्मचारीलाई जति भएपनि नपुग्ने अनि सर्वसाधारण जनता चाँहि खान नपाएर पासो लगाउने ! फेरि यीनीहरुको विरोधमा न जनता सडकमा उत्रिन्छन् न सञ्चारकर्मी कलम चलाउँछन्।
