सुदूरपश्चिम समृद्धिको आधारः खप्तड पर्यटन प्रवद्र्धन

नेपालको सुदूरपश्चिम क्षेत्रमा अवस्थित खप्तड समृद्धिको मूलआधार हो भन्नेमा त्यहाँ पुगेका र त्यहाँको बारेमा अध्ययन गरेकाहरु एकमत छन् । पूर्वाधार विकासका हिसाबले धेरै पछि रहेको खप्तड क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने र सहजै खप्तड पुग्नसक्ने वातावरण बन्नसके समृद्धिको आधार भन्नेकुरा चाँडै नै व्यवहारमा लागुहुन्थ्यो सायद । किनकी खप्तड अछाम, बझाङ र बाजुराको हिमाली संगमस्थल पनि हो । यसर्थ पनि खप्तड लेक घुम्ने रहर धेरैको भएको पाइन्छ तर भौगोलिक विकटताका कारण त्यहाँ पुग्न कठिन छ, त्यस्तै पर्याप्त प्रचार–प्रसार नहुँदा घुमक्कडहरु समेत अन्जान रहेको तितो यथार्थ पनि हामी माझ छर्लंग छ ।
स्वर्गिय आनन्द दिलाउने खप्तडमा जेठ–असारमा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँसको सौन्दर्य मुख्य विशेषता हुन् । उत्तरपूर्वतिर देखिने अपि–सैपाल हिमालको चमकमा खप्तड शान नै फरक भएको भान हुन्छ । समुन्द्री सतहदेखि १,२६२ मिटरदेखि ३,२७६ मिटरसम्म रहेको खप्तड लेकमा ठुल्ठूला २२ वटा पाटन (चौर) रहेकाछन् । पुरानो गाईभैंसी चरन क्षेत्र मानिने खप्तड क्षेत्रलाई सरकारले बाजुरा, डोटी, बझाङ र अछामको २२५ वर्ग किलोमिटरलाई ०४३ असार ९ गते खप्तड राष्ट्रिय निकुञ्ज बनायो । हाल निकुञ्जको सुरक्षार्थ सेना खटेको छ ।
खप्तडको चर्चा स्कन्द पुराणमा छ । स्कन्द पुराणमा “खेचराद्री” भनिएको छ । खेचरको अपभ्रंश हुँदै जाँदा खप्तड भएको किंवदन्ती छ र स्थानियहरुले नै यहि कथनलाई बढि विश्वास गरेको पाइन्छ । आत्ध्यात्मिक रुपमा चर्चित खप्तड बाबा ५० वर्ष त्यहाँ बसेर ध्यान र योग गरेका थिए । बाबालाई भेट्न राजा वीरेन्द्र समेत बरोबर खप्तड पुग्थे । राजा विरेन्द्र बरोबर त्यहाँ पुगेर नै त्यो क्षेत्रको चर्चा चुलिएको स्थानियहरु बताउँछन् ।
खप्तड निकुञ्जको मुख्यालयलाई केन्द्र मानेर खप्तड क्षेत्रभित्रै त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउनेजस्ता रमाइला ठाउँ घुम्न सकिन्छ । खप्तडको अधिक भाग पुग्न कम्तीमा दुई दिन, दुई रात बस्नुपर्छ । खप्तड हुँदै पश्चिम नेपालको मुख्य आकर्षण राराताल पुग्न झण्डै १२ दिन लाग्छ ।
युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएको कथा गाउँले सुनाउँछन् । त्रिवेणीधाम गंगा दसहरामा मेला लाग्छ । त्रिवेणी गंगा र जमुना र सरस्वतीको संगम पनि मानिन्छ । खप्तड मेला भर्नेहरु रातभर जागा बस्छन् । देउडा गीत गाउँछन्, खेल्छन् । त्यहाँ नुहाएपछि पाप पखालिने विश्वासले मेलामा त्यहाँ पुग्नेहरु नुहाउने गर्छन् । जैविक फूलबारी मानिने खप्तडमा ३७२ प्रजातिका विविध महत्वका वनस्पति पाइन्छन् । कालकुट, पाँचऔंले, नीरमसीजस्ता १२५ थरी बहुमूल्य जडिबुटी र विभिन्न जातका चराको वासस्थानको रुपमा पनि खप्तडलाई चिनिन्छ ।
खप्तड यात्रा सोचेजस्तो सजिलो नभएकै कारण बर्षेनि जति संख्यामा त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्नपर्ने हो त्यो मात्रामा पुग्न सकेका छैनन् । मुख्य खप्तड क्षेत्रमा होटलको व्यवस्था छैन । निकुञ्जले बीचपानी र निकुञ्ज मुख्यालयमा गेस्ट हाउस चलाएको छ । पहिल्यै खबर गरेर जाँदामात्र सुविधा पाइन्छ । त्यसैले ड्राई फुड र स्लिपिङ ब्याग बोक्नु बुद्धिमानी र व्यावहारिक ठहरिन्छ ।
खप्तड पुग्न सबैभन्दा सहज बाटोको रुपमा हाल डोटी सदरमुकाम सिलगढीबाट झिग्रानासम्म मोटर बाटो खुलेको छ । झिग्रानामा केहि सामान्य सुविधा सहितका लज छन् । डोटीमा पर्ने झिग्राना खप्तडको प्रवेशद्वार पनि । सिलगढीबाट रिजर्भ गाडीमात्र झिग्राना पुग्छन् । त्यसैले सिलगढीबाट हिँडेर जाँदा पहिलो बास झिग्राना बस्नु बेस हुन्छ । दोश्रो दिन आठ घन्टा हिँडे निकुञ्ज मुख्यालय पुगिन्छ ।
खप्तड हेलिकप्टर र हवाई जहाजबाट अवलोकन गर्दा या स्वयं त्यहाँ पुग्दा घोप्टिएको कचौराजस्तो लाग्छ । त्यहाँ डोटीको झिग्रानाबाहेक बझाङको छान्ना, बाजुराको कोल्टी, अछामको साँफेबगर र डोटी सीमा चौखुट्टेबाट जान सकिन्छ । बाटोमा संकेत बोर्डहरु छैनन् । पर्यटन पूर्वाधारका धेरै काम हुन बाँकी छ ।
सडक यात्राबाट खप्तड जान एक साताका लागि सरदर १४ हजार रुपैयाँ लाग्छ । यसले बसभाडा तिर्न, खान र बस्न पुग्छ । काठमाडौंबाट धनगढी (६५० किलोमिटर) झण्डै बसमा १४ घन्टामा पुगिन्छ । धनगढीबाट सिलगढी दुई सय कि.मि. बसमा झण्डै आठ घन्टा यात्रा गर्नुपर्छ । काठमाडौं देखि धनगढी हवाई यात्रा पनि सुचारु छ । पदयात्रा रुचाउनेहरुका लागि सिलगढीबाट जानुपर्छ ।

चिसो हावापानी, चारैतिर देख्न सकिने अग्लो डाँडा पूर्वतर्फ माण्डवी र धर्मावति (झिमरुक) नदी, पश्चिम तर्फ दाङको समथर भाग उत्तरतर्फ धौलागिरी हिमश्रृङ्ला र दक्षिणतर्फ देउखुरी उपत्यका देखिने साथै लालिगुँरास, अनेक किसिमका जंगली जनावर र चराचुरुङ्गीहरुको आवाज सुनिने, वेदपाठको ध्वनीले साँझ विहान कर्ण गुञ्जयमान हुने यस पवित्रस्थल अत्यन्त रमणीय र मनमोहक छ । यो तीर्थस्थलमा आन्तरिक पर्यटक मात्र हैन बाह्य पर्यटक भित्र्याउने प्रशस्त संभावना बोकेको क्षेत्र हो ।