नेताहरूको एेतिहाँसिक कदम

काठमाडौं – प्रमुख दुई वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको छ । मंसिर १० र २१ गते हुन लागेको प्रदेश र केन्द्रको निर्वाचनमा दुई दलीय तालमेलबाट सुरु भएको छलफल पार्टी एकीकरणमा गएर टुंगिएको हो ।

 

एकीकरण प्रक्रियामा माओवादीबाट छुट्टिएर गठन भएको नयाँ शक्ति पार्टी नेपाल पनि जोडिएको छ । तीन दलबीच एउटै कम्युनिस्ट निर्माण गर्ने उद्देश्यसाथ ६ बुँदे सहमति भएको छ । तीन दलले प्राविधिक र कानुनी अड्चन देखिएको एउटै चुनाव चिह्न लिएर मंसिरकै निर्वाचनमा जाने प्रयास गरे पनि असम्भव भएको नेताहरूले बताएका छन् ।

 

‘बाबुराम भट्टराईजीको पार्टी प्रदेश र केन्द्रको निर्वाचनमा सूर्य चिह्नमै लड्नेछ,’ राष्ट्रिय सभागृहमा मंगलबार साँझ आयोजना गरिएको तीन दलबीच भएको सहमतिको घोषणा सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘‘अरू पार्टी पनि त्यसमै निर्वाचन लड्ने प्रयास भइरहेको छ।’ ‘यो एकीकरण र तालमेल अन्य कुनै पार्टीविरुद्ध भएको होइन । वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक पार्टी पनि यसमा सामेल हुन सक्छन् ।’ केपी ओली एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरणले नेपाली राजनीतिमा नयाँ अध्यायको प्रारम्भ भएको दाबी ओलीले गरे । उनले एउटै कम्युनिस्ट पार्टी बनाएर देश र जनतामा समर्पित हुन यस्तो प्रयास भएको स्पष्ट पारे । ‘यो एकीकरण र तालमेल अन्य कुनै पार्टीविरुद्ध भएको होइन,’ उनले भने, ‘वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक पार्टी पनि यस एकीकरणमा सामेल हुन सक्छन् ।’ प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्षतर्फ ६० र ४० प्रतिशत सिट भागबन्डा गर्ने सहमति गरेका तीन दलले निर्वाचन क्षेत्र भने आपसी सहमतिमा तय गर्ने भएका छन् । तर, वाम एकता र निर्वाचनमा तालमेल गर्न आउने अन्य दललाई दिएर बाँकी स्थानमा मात्र दुई दलले साठी र चालीस प्रतिशत लिने सहमति भएको एमाले र माओवादीका शीर्ष नेताहरूले स्पष्ट पारेका छन्। 

माओवादी अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट इतर र मधेसी दलहरूसँग पनि चुनावी तालमेल गर्ने नीति खुला रहेको बताए । उनले भने, ‘चुनावी तालमेल हुने अन्य शक्तिहरूका लागि छुट्याएर बाँकी सिटमा मात्र ६० र ४० प्रतिशत कायम गरेर जाने हो ।’ याे एकता कसैका विरूद्ध हाेइन, राष्ट्रकाे समृद्धि र स्वाधिनताका लागि हाे ’ । ‘कहिलेकाहीं राजनीतिमा असम्भव भनिएको काम सम्भव हुन्छ र सम्भव ठानिएको काम पनि हुँदैन । ऐतिहासिक आवश्यकताले जन्मिएको परिस्थिति हो यो ।’

 

तीन दलबीच निर्वाचनमा साझा घोषणापत्र तयार पार्ने सहमति भएको छ । यसका लागि प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरिनेछ । प्रदेशमा पनि संयुक्त घोषणापत्र तयार गर्ने सहमति भएको छ । तीन दलले निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गरेका छन्।

 

तीनै दलका शीर्ष नेताहरूले सबैलाई एकै ठाउँमा गोलबद्ध हुन पनि आह्वान गरेका छन् । एमाले अध्यक्ष ओलीले भने, ‘आआफ्नो ताउलो बसाउन कुरा छाडेर एकता गर्न आउनुस् । हामी हिसाबकिताबतिर लाग्दैनाैं, ठूला–साना भन्दैनौँ, सबैलाई सम्मान गर्छौं।’ माओवादी अध्यक्ष दाहालले राष्ट्रिय हितका लागि एकता प्रक्रिया सुरु गरेको दाबी गरे । ‘कहिलेकाहीं राजनीतिमा असम्भव भनिएको काम सम्भव हुन्छ र सम्भव ठानिएको काम पनि हुँदैन’, उनले भने, ‘ऐतिहासिक आवश्यकताले जन्मिएको परिस्थिति हो यो।’

 

तीन दलबीचको एकीकरण निष्कर्षमा पु¥याउन एमाले र माओवादीका अध्यक्षहरूको प्रमुख भूमिका रहने गरी आठ सदस्यीय एकता संयोजन समिति गठन गरिएको छ । समितिमा एमालेका चार, माओवादीका तीन र नयाँ शक्ति नेपालका एक नेता सदस्य रहनेछन् । समितिले पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना तयार गर्नेछ। एकतालाई संकुचित अर्थमा नबुझ्न दाहालले आग्रह गरे । ‘पार्टी एकीकरणले राजनीतिक स्थिरतासहित आर्थिक समृद्धितिर जाने उद्देश्य बोकेको छ,’ उनले भने, ‘एकता जनताको स्वाधीनताका पक्षमा छ । कोही भ्रमित हुन आवश्यक छैन ।’

 

प्रदेश र केन्द्रको निर्वाचनपछि पार्टी एकता प्रक्रिया टुंगोमा पु¥याउने घोषणा नेताहरूले गरेका छन् । तीन दलबीच पार्टीको नीति र विधान तयार पार्न दस्ताबेज मस्यौदा समिति गठन गर्ने सहमति भएको छ । ‘एकीकृत पार्टीको नीति कार्यक्रमको घोषणापत्र, विधान तयार गर्न तीनैवटै पार्टीका प्रतिनिधि सम्मिलित दस्ताबेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात विधिवत् पार्टी एकता सम्पन्न गर्ने,’ सहमतिपत्रमा भनिएको छ । दस्ताबेज मस्यौदा समितिमा कोको रहने भन्ने सहमतिमा खुलाइएको छैन।

 

पार्टी एकीकरणको घोषणा गरे पनि आन्तरिक बहस र छलफल भने खुला राखिएको नेताहरूले बताएका छन्। उनीहरूले अब बन्ने पार्टीको मुद्दामा बहस चलाउन र नकारात्मक टिप्पणी नगर्न पार्टीका सबै तहका नेताकार्यकर्तालाई आग्रह गरेका छन्। ओलीले पार्टीका कार्यकर्तालाई सान्त्वना दिँदै नेतृत्वले जिम्मेवारी र क्रान्तिकारी धार छोड्यो भनेर शंका नगर्न आश्वस्त पारे । ओलीले भने, ‘पार्टी कार्यकर्तालाई क्रान्तिकारिता र जिम्मेवारी छोड्यो कि भन्ने लाग्न सक्छ तर नेतृत्वले केही पनि छोडेको छैन।’

 

एकीकरणपछि भूगोल, पेसा, जात, समुदाय, धर्मबीच कुनै भेदभाव, दमन, उत्पीडन नहुने दाबी गर्दै एमाले अध्यक्ष ओलीले सबैलाई न्याय, अधिकार, अवसर, सुरक्षा र उच्च सम्मान ल्याउन पनि एकीकरण आवश्यक रहेको औँल्याए ।तीन दलीय घोषणासभालाई सम्बोधन गर्दै ओलीले जनताको आकांक्षा र राजनीतिक आवश्यकताका कारण एकताबद्ध पार्टी बनाउन सहमत भएको दाबी गरे । उनले भने, ‘आगामी चुनावलाई सुपरिणाम दिन सकोस् । चुनाव उपयोगी हुन सकोस्।’ तीन पार्टीको एकताको सहमतिले देशको राजनीतिक, सामाजिक, आर्थिक विषयलाई सही बाटोतर्फ अगाडि बढाउने दाबी ओलीले गरे । ‘देशको जन्मकुण्डलीमा २०७४ सालमा देशभक्त र वामपन्थी सरकार लेखेकै छ,’ ओलीले भने, ‘यो कसैले मेट्नै सक्दैन । अब साधारण बहुमत होइन, हाम्रो ध्यान दुई तिहाइतिर हुनेछ ।’ ओलीले व्यंग्य गर्दै भने, ‘मलाई डर छ, निद्राको ट्याबलेट बढी बिक्ला कि !’ संयुक्त प्रयासले सफलता प्राप्त गरेपछि भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरे । उनले भने, ‘एकतापछि कमिसनखोरीका पछि दौडिन्नौं, कानुनी राज कायम गर्छौं, भेदभाव र पक्षपात गर्दैनौं।’

देशलाई कता लैजाने भन्ने सहमतिपत्रमै लेखिएको उनले बताए । उनले सहमतिले राष्ट्रिय एकता र स्वाभिमानतालाई माथि उठाउन चाहेको भन्दै त्यसका लागि एकजुट हुन आवश्यक भएको बताए । ‘लोकतन्त्र, अधिकार, सामाजिक न्याय, समानताका लागि लडेका छौं,’ उनले भने, ‘लोकतान्त्रिक प्रणाली तयार भएको छ । हामी एकमत छौं।’ ओलीले विविधताभित्र पसेर भूगोल–भूगोलबीच, भावनाबीच, जातबीचमा भड्काउने प्रयास पनि भएको बताए । ‘सबैलाई न्याय, अधिकार, सबैका लागि अवसर, सुरक्षा, सबैलाई सम्मान दिइएको छ,’ उनले भने, ‘जुनसुकै भाषा, धर्म, संस्कृति, वर्ग पेसाका हौं, सबै जनताका बीच गरिबी अन्त्य गर्नुपर्छ । भूगोल र जातका आधारमा कसैले भेदभाव गर्न सक्दैन।’ एमाले अध्यक्ष ओलीले दक्षिणी छिमेकी मुलुकप्रति घुमाउरो ढंगबाट असन्तुष्टि व्यक्त गरे । उनले छिमेकीहरूसँग जिम्मेवार ढंगले सन्तुलित, मैत्रीपूर्ण, बराबरीको हैसियतमा सम्बन्ध राख्ने दाबी गरे । उनले भने, ‘संयुक्त राष्ट्रसंघको पञ्चशील सिद्धान्तभन्दा एक शब्द पर जाँदैनौं।’

 

घोषणासभामा माओवादी अध्यक्ष दाहालले पार्टी एकताको प्रयास र निर्वाचनमा तालमेल गरेर जाने प्रयास कसैका विरुद्धमा लक्षित नभएको बताए । ‘हाम्रो एकता कसैका विरुद्ध परिलक्षित छैन । पार्टी एकीकरण नेपाली जनताका पक्षमा भएको हो र कोही भ्रमित नहुनु,’ अध्यक्ष दाहालले भने, ‘पार्टी एकता र चुनावी तालमेल नेपाली कांग्रेसका विरुद्ध छैन ।’ अध्यक्ष दाहालले राजनीतिमा असम्भव देखिएका कुरा पनि सम्भव हुने र सम्भव देखिएका कुरा पनि असम्भव हुने बताए । उनले अन्य साना कम्युनिस्ट पार्टीलाई समेत एकतामा आउन आह्वान गरे। ‘चुनावी तालमेलमा कम्युनिस्ट मात्र भनेका छैनौं, लोकतान्त्रिक शक्ति र अन्य शक्तिसम्म पनि तालमेलको कुरा गरेका छौं,’ दाहालले भने, ‘पार्टी एकता मात्र कम्युनिस्टको बीचमा भनेका छौं । तर, चुनावी सबै शक्तिसँग अपिल गरेका छौं ।’ दाहालले संविधान बनाउने प्रयास गर्दैगर्दा सहमतिबाट जाने संकल्प भएको बताए । उनले नेपाली कांग्रेसलाई पनि संविधान निर्माणको प्रक्रियामा जस दिएका थिए । । तर, तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा उठेपछि राष्ट्रिय संकल्प र प्रतिबद्धता हुन नसकेको गुनासो दाहालले गरे । नयाँ पहलका साथ निरन्तरतामा क्रमभंगता भएको दाहालले बताए । समाजवादको नयाँ मोडल तयार गरेर विश्वलाई सन्देश दिन कम्युनिस्टहरूबीचको एकता प्रयास सुरु भएको बताउँदै दाहालले भने, ‘एउटै कम्युनिस्ट पार्टी बनाउने अधुरो काम पूरा गर्दैछौं ।’

 

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वामपन्थी एकताले देशलाई समुन्नत समाजवादको दिशामा अगाडि लैजाने दाबी गरे । आगामी चुनावमार्फत देशका सबै वामपन्थी प्रगतिशील शक्तिलाई एकजुट हुन आग्रह गर्दै उनले संविधान कार्यान्वयन र समय अनुकूल परिमार्जन गर्दै अगाडि बढ्ने बताए । दुई तिहाइ बहुमत ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने पनि उनले उद्घोष गरे । ‘केही महिनाभित्र बृहत् राजनीतिक धु्रवीकरण गरेर देशलाई नयाँ युगमा लैजानेछौं,’ भट्टराईले भने, ‘एकीकरण प्रक्रिया सुरु भएको छ । बाँकी रहेकालाई पूर्णतामा पुर्‍याउन आग्रह गर्छु ।’