कोहलपुरमा गजल विवेचना तथा रचना वाचन

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सोमबार गजल विवेचना तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

  
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली गजलका प्रथम विद्यावारिधी डा. घनश्याम न्यौपाने ‘परिश्रमी’को प्रमुख आतिथ्य रहेको थियो । कर्णाली कला संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्मोही संकल्पको समेत आतिथ्य रहेको कार्यक्रममा प्रतिष्ठानका सहसचिव केशव निमेषले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी डा. परिश्रमीले संक्षिप्तमा गजल साहित्यको विकासमा बारेमा प्रकाश पार्नुभएको थियो । ‘‘दरबारका लागि सिर्जना हुन थालेको गजल मस्जिदसम्म पुग्यो भने मस्जिद हुँँदै मन्दिर अनि मन्दिर हुँदै सामाजिक सरोकारका विषयवस्तु उठान गर्ने भैसकेको अवस्थामा अहिले गजल सडकसम्म पुगेको छ । अब गजल कुनै निश्चित दायरा वा सिद्धान्तमा सिमित हुन नसक्ने अवस्थामा छ ।’’ डा परिश्रमीले भन्नुभयो । नेपाली गजलको बर्तमान धारका सन्दर्भमा विवेचना गर्दै डा परिश्रमीले भन्नुभयो ‘नेपाली गजलमा स्पष्ट तिन धार छन् । म पहिलो धारको नेतृत्व गर्छु तर अरू धारको पनि सम्मान गर्छु । हामीले गजललार्इ जसरी पनि प्रवद्र्धन तथा सम्वर्धन गर्ने हो । विकास गर्ने हो । राम्रो गजल लेख्ने कुरामा सम्झौता गर्ने होइन । हामी साँघुरिने पनि होइन । यस बिधामा अझै केही गर्न बाँकी छ । हामी सबै गजलका पारखी मिलेर अघि बढौं । र अबको पुस्ता यसको लागि तयार हुन लागेको छ ।’’ गजलका सन्दर्भमा बताउँदै डा परिश्रमीले भन्नुभयो गजल गेय विधा हो, यसर्थ यसको रचना बहरमा वा कुनै न कुनै लयमा हुनु आवश्यक छ ।

कार्यक्रमका अतिथी एवम् कर्णाली कला संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्मोही संकल्पले आधा दशक अघिको कोहपुर गजल साँझको सम्झना गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार तथा पूर्णिमा पत्रिकाका प्रधानसम्पादक सागर गैरेले हामीले विगत दुई दशक देखि गरिरहेको प्रयासमा सफल हुँदै गएको र निरन्तर जारीरहने बताउनु भयो ।

 

कार्यक्रममा सभापति महानन्द ढकालले कोहलपुर साँच्चिकै पश्चिम नेपालको साहित्यिक संगम पनि रहेको बताउनु भयो । ढकालले भन्नुभयो ‘हिजोका दिनमा राष्ट्रिय प्रतिभाहरु पनि कोहलपुरमा आएर साहित्यिक जमघटमा सहभागि भएको र आज नेपाली गजलका प्रथम विद्यावारिधी डा. परिश्रमीको समेत आतिथ्य रहनुलाई कोहलपुर साँच्चिकै साहित्यिक संगम भएको र यो प्रयास र अभियान निरन्तर जारीरहने छ ।’

कार्यक्रममा घनश्याम परिश्रमी, महानन्द ढकाल निर्मोही संकल्प, बद्री ढकाल ‘हिरामणि’, शान्ति अधिकारी, तिलक बि. शि., नमिता बराल, बेगम थापा ‘निश्चल’, बिक्रम शिशिर, केशव निमेष, लगायतका श्रष्टाहरुले रचना वाचन गर्नु भएको थियो