ट्रम्पले गरे जिनपिङको प्रसंसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङले महाधिवेशनमार्फत शक्ति संगठित गरेर ‘असाधारण उचाइ’ प्राप्त गरेको बताएका छन् । महाधिवेशनपछि सी पुनः महासचिवमा निर्वाचित भएको भोलिपल्ट राष्ट्रपति ट्रम्पले सो टिप्पणी गरेका हुन् । अर्को कार्यकालका लागि निर्वाचित भएकोमा ट्रम्पले चिनियाँ समकक्षीलाई बधाईसमेत दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङमा बिहीबार सम्पन्न १९औँ महाधिवेशनले सीलाई पुनः अर्को पाँच वर्षका लागि महासचिवमा निर्वाचित गरेको थियो ।

 

ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुने
चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने भएको छ । चिनियाँ समकक्षीको निमन्त्रणामा आगामी अक्टोबरमा अमेरिकी राष्ट्रपतिले ट्रम्प चीन भ्रमण गर्दै छन् । भेटावार्तामा उत्तर कोरिया, साझा व्यापारलगायतका विषयमा छलफल हुनेछ । उनीहरूबीच गत जुलाईमा औद्योगिक राष्ट्रहरूको समूह जी २० को सम्मेलनमा भेट भएको थियो । बिहीबारको फोनवार्तामा दुई नेताबीच व्यापार र उत्तर कोरियाका बारेमा छलफल भएको राष्ट्रपति ट्रम्पले ट्विटमार्फत जानकारी दिएका छन् ।

 

चीन–अमेरिका सम्बन्ध सुदृढ गर्न इच्छुक
बिहीबारको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सीले अमेरिकी राष्ट्रपतिसँग भविष्यमा चीन–अमेरिका सम्बन्धको विकासबारे संयुक्त रूपमा खाका बनाएर काम गर्ने इच्छा व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, राष्ट्रपति ट्रम्पले दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्न आफू इच्छुक रहेको बताएका थिए ।

 

शक्तिशाली सी
अधिवेशनपछि राष्ट्रपति सी झनै शक्तिशाली भएको ट्रम्पले संकेत गरेका छन् । राष्ट्रपति सीलाई पार्टीको विधानमा माओसरहको स्थान दिइएको छ । अधिवेशनले पार्टी विधान संशोधन गर्दै राष्ट्रपति सीको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी जिनपिङको आदर्श’ भन्ने नारा समावेश गरेको छ । परम्परालाई तोड्दै राष्ट्रपति सी जिनपिङले प्रस्ट उत्तराधिकारी उल्लेख नगरी नयाँ नेतृत्वपंक्ति गठन गरेका छन् । उत्तराधिकारी प्रस्ट चयन नगरेसँगै आगामी पाँच वर्ष र सम्भवतः त्यसभन्दा बढी अवधिसम्म सीले चीनमा बलियो पकड कायमै राख्ने संकेत गरेका छन् । चीनको संविधानमा राष्ट्रपति सीको नाम र उनका सिद्धान्तहरूसमेत उल्लेख छ ।