मंसिरमा फिल्मको खडेरी

काठमाडौं । हलमा नयाँ नेपाली फिल्म कुरेका दर्शक निराश भएको दुई हप्ता भइसकेको छ । मंसिर १ गते निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ रिलिज भयो । त्यसपश्चात कुनै नाम सुनिएका फिल्म हलमा छैनन् । आफ्नो फिल्म प्रदर्शन गर्न हानथाप गर्ने निर्माता निर्देशकहरू यो महिना भने चुप बसेका छन् । किन रिलिज भएनन् फिल्म ? देश अहिले चुनावमय बनिरहेको छ । चुनावको प्रत्यक्ष प्रभाव फिल्म प्रदर्शनमा पनि देखिन्छ ।

 

वितरक तथा निर्हमाताहरू यस महिना फिल्म रिलिज नहुनुको कारण भनेको चुनाव नै भएको बताउँछन् । वितरक गोपालकाजी कायस्थ भन्छन्, यो महिना फिल्म रिलिज नहुनुको कारण चुनाव नै हो । सबै जना चुनावमा व्यस्त हुन्छन्, फिल्म हेर्न को जाने हलमा ? सबै दर्शकको ध्यान फिल्ममा नभई चुनावतिर नै हुने उनको बुझाइ छ ।

 

त्यस्तै, अर्का वितरक गोविन्द शाहीले पनि फिल्म रिलिज नहुनुको एक मात्र कारण चुनाव भएको बताए। उनले भने, ‘राजनीतिको पूरा असर फिल्ममा परिरहेको हुन्छ । सबै दर्शक चुनावी प्रचारमा व्यस्त हुन्छन् । त्यसैले यो बेला फिल्म रिलिज गरेर निर्मातालाई डुब्नु छैन ।’ ‘पद्मावतीुको डर पनि थियो कि ? यही महिना बलिउडको प्रतीक्षित फिल्म ‘पद्मावति’ रिलिज हुने भनिएको थियो । तर अन्तरिक विवादले गर्दा यस फिल्मको रिलिज मिति पछि सरेको छ । ‘पद्मावती’ रिलिज हल्लाले गर्दा पनि उक्त फिल्मको चेपाइमा पर्ने डरले निर्माताले फिल्म रिलिज गर्न डराएका हुन् कि भन्ने अनुमान पनि गरिएको थियो। तर त्यसो नभएको वितरक बताउँछन् ।

 

गोपालकाजी भन्छन्, पद्मावतीले हामीलाई केही असर गर्दैन । त्यो हिन्दी फिल्म हो, हाम्रो नेपाली अनि के मतलव भयो त ? त्यस्तै गोविन्द शाही अहिले बलिउड फिल्मसँगै जुध्दै आइरहेकाले पद्मावतीसँग डराउनुपर्ने कारण नभएको बताउँछन् । रिलिज भएका सबै फ्लप मंसिर १ गते झ्यानाकुटीपश्चात ८ गते शुक्रबार फिल्म जुन त लाग्यो ताराले रिलिज भयो । यस फिल्मले पानीसमेत मागेन ।

 

त्यस्तै, गत शुक्रबार अर्थात मंसिर १५ बाट फिल्म फिक्का र न्फ्युजन रिलिज भए । तर फिल्मले हल पाउनै गाह्रो भयो । यी फिल्मले जति हल पाए, ती हलमा दर्शक भने पाएनन् । अबको शुक्रबार अर्थात् मंसिर २२ गते फिल्म दिपज्योति प्रदर्शनमा आउँदै छ । तर उक्त फिल्मले पनि हलमा दर्शकको साथ पाउँछ भन्न सकिने अवस्था छैन । यो महिना फिल्म रिलिज नहुनुको सिधा फाइदा पुराना फिल्मलाई पुगेको छ । हलबाट बाहिरिइसकेका फिल्महरूले अहिले मल्टिप्लेक्स हलमा समेत शो पाइरहेका छन् ।