सरकार र पार्टीबीच नजानिँदो दरार, प्राधिकारपूर्ण हेडक्वाटरको गठनमा ओलीदाहालबीच तानातान

 

प्रकाशित मिति : २०७५ असार ५

काठमाडौं, जेठ ५ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को निर्माणपछि यसका एक अध्यक्ष पुष्पकमल दाहालले शक्तिशाली हेडक्वाटर गठनको आवश्यकता औल्याएका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सांसदहरुलाई बजेटको बारेमा छलफल गर्नुपर्ने र अनिवार्य गरिने संसद वैठकमा बोल्न रोक लगाएलगत्तै दाहालको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

विगतमा नेकपा (माओवादी) पार्टीका प्राधिकारसमेत रहेका प्रचण्डले आफ्ना सहयात्री ओलीको आँतपेट पाएपछि अब उनी शक्तिशाली हेडक्वाटरका नाममा प्राधिकारको ढोका खोल्ने तयारीमा लागेका छन् ।

एकतापछि पनि पूर्व एमालेहरुले पूर्व माओवादी केन्द्रलाई हेप्ने र पूर्व माओवादी केन्द्रले पूर्व एमालेलाई तर्साउन खोज्ने मनोविज्ञानले ठूलो असामञ्जस्यता खडा गरिदिएको छ । पूर्व माओवादी केन्द्र पूर्व एमालेलाई ‘सिध्याउन’ आएको र पूर्व एमालेले पूर्व माओवादी केन्द्रलाई ‘बिलय’ गराउन ल्याएको एकापसमा हुने र गरिने चर्चाले कार्यकर्ता र कताकता त नेताहरुमा पनि बाक्लो कुहिरो लगाएको छ ।

ओलीदाहाल यसलाई आफूहरुमा शक्ति केन्द्रित गर्ने अवसरका रुपमा उपयोग गर्न चाहन्छन् । तर ती दुईमा पनि आआफ्ना स्वार्थहरुले काम गरिरहेका छन् । दाहाल चाहन्छन् केपी ओलीले सरकारी काम मात्र गरुन् । तर केपी चाहन्छन् दाहाललाई फुक्काफाल एकलौटी काम गर्न दिइनु हुँदैन । त्यसैले शक्तिशाली हेडक्वाटरको निर्माण र उपयोगमा पनि यी दुईको फरक मत देखिन्छन् ।

 

तर यी दुईको बीचमा समानता के रहेको छ भने यी दुवै इतिहासकै शक्तिशाली अध्यक्ष बन्न चाहन्छन् । त्यसैले हरेक पार्टी मिटिङमा पहिलो अध्यक्षका रुपमा केपी ओली उपस्थित भइ नै रहन्छन् । उनले दाहाललाई एक्लै कार्यक्रम प्रायः गर्न नै दिदैनन् ।

 

अब सरकार र पार्टीका बीचमा (ने क पा) भित्र बिस्तारै दरार पैदा हुँदै गएको छ । राज्यको शक्ति कसका हातमा केन्द्रित गर्ने भन्ने गहिरो मनोविज्ञानले यी दुई नेताको मनभित्र बिस्तारै ठोस आकार ग्रहण गर्दै गइरहेको छ । यी दुईले एकअर्कालाई समकक्षी वा पहिलो र दोस्रोका रुपमा स्वीकर गर्नुभन्दा पनि प्रतिस्पर्धीका रुपमा दाउँ हेरिरहेका छन् ।

एउटै म्यानमा रहेका दुई तरवार एकापसमा निसासिएर बसेका छन् । यिनीहरुले एकतापछि विकसित घटनाक्रमलाई रौं केस्राका रुपमा नियालिरहेका छन् । पार्टी एकतापछि तल्ला तहका निकाय तथा जनवर्गीय संगठनमा गर्न थालिएको एकतामा दुई अध्यक्षमध्ये कसको पकड बलियो हुने भन्ने प्रतिस्पर्धा पनि छ ।

 

दाहाल चाहन्छन् शक्तिशाली र कार्यकारी अध्यक्षका रुपमा आफू देखिन पाए तलतल चलेका एकतामा आफूतिर मानिसहरु झुम्मिने थिए । तर ओली भने एकताका बखत भएको समझदारीअनुसार गरे आफ्नो हात माथि हुने कुरामा विश्वस्त देखिन्छन् ।

दाहालको ‘खेल्ने बानी’ र ओलीको ‘पेल्ने बानी’ एकअर्कालाई राम्रोसँग थाह छ । सङ्घीय संसदको मर्यादा नाघेर बजेटको आलोचना गरेको भन्दै प्रम ओलीले बजेटको बचाउमा आफ्ना अभिव्यक्ति दिन सांसदहरुलाई निर्देशन दिएका छन् । ‘चित्त नबुझेका कुरा पार्टीमा राख्नु पर्ने’ भन्दै ओलीले सत्तापक्षीय सांसदहरुलाई संयमित हुन चेतावनी पनि दिएका छन् । सांसदलाई पार्टीमा लगेर बाँधेपछि आफू पनि जवाफ दिन त्यहाँ मुख्य ठाउँ पाउने र दाहाल पनि खेल्न नपाउने उनको बठ्याइँले काम गरेको प्रस्ट देखिन्छ ।

अर्कोतिर दाहाल शक्तिशाली पार्टी हेडक्वाटरको माग गर्दै सरकारमा गएकाहरु माथि पार्टी अंकुश लगाउने र सरकारमा पार्टी अध्यक्षको पनि ‘भाउ र दाउँ’ दुवै रहेको देखाउन चाहन्छन् । एकतापछि पार्टी निकै ठूलो बलियो भएको दाहालले भन्ने गरे पनि आफू दोस्रो दर्जाको अध्यक्ष भएको उनको जटिल मनोविज्ञान बन्न पुगेको छ ।

 

दाहालले यो पनि बारम्बार भन्ने गरेका छन् कि पार्टी भित्र पूर्ववत् गुटहरू सक्रिय छन् र ती गुटहरूको अन्त्य बलियो हेडक्वाटर बनाएपछि मात्र सम्भव छ । उनको मनमा पसेको चीसोपनले उनलाई घरि यता र घरि उता गर्ने बनाइदिएको छ । उनी प्रसँग वा वेप्रसँग बलियो हेडक्वाटर चाहिने, पार्टी सामूहिकतामा चल्नुपर्ने र गुट वा समूहहरुको अन्त्य हुनुपर्ने कुरा बोलि नै रहन्छन् ।

 

आन्तरिक रुपमा विचार, सङ्घर्ष र जुझारु जनता तथा त्यस्तो खाले सुदृढ सङ्गठन सबै स्वाहा पारिसकेपछि दाहाल अब फेरि शक्तिशाली बनेर आउने संभावना शुन्य नै छ । बाहिरतिर शक्ति राष्ट्रका सहयोगका हिसाबले उनी अगाडि आउने सम्भावना पनि प्रायः शुन्य नै छ ।

प्रम ओली नै आजका विदेशी शक्तिको एक नम्बरका प्रिय पात्र बनिसकेका छन् । उनका अगाडि दाहालको मूल्य कौडीको भाउमा गिरेको छ । ओलीको बहुुदलीय जनवाद छदैंछ, पार्टी छँदैछ र सूर्यचिन्हका साथै माक्र्सवाद लेनिनवाद छँदै छ ।
उता दाहालको भने आफ्ना सबै स्वाहा भएका छन् ।